काठमाडौं । काठमाडौं उपत्यकामा मागको एक तिहाइमात्र पानी आपूर्ति हुने गरेको छ। उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाइभन्दा कम अर्थात् करिब १३ करोड लिटरमात्र वितरण गर्दै आएको छ।
पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने लिमिटेडले जनाएको छ। वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ। सुक्खा मौसम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव सुरु भएको छ। पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ। धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य हुन्छन्। काठमाडौं उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी संकलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ।
यी स्रोतमध्ये सबैभन्दा बढी वाग्मती नदीको पानी सुन्दरीजलमा संकलन गरी वितरण हुन्छ। प्राकृतिक स्रोतबाट संकलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ। उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ । बढ्दो जनसंख्या, घर/भवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको बताइएको छ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले लिमिटेडलाई ३० वर्षका लागि उपत्यकामा पानी वितरणको व्यवस्था गर्ने गरी सम्झौता गरेको छ।