काठमाडौं । प्रभावकारी नीति, व्यावहारिक कार्ययोजनालगायत कारणले आन्तरिक बजारमा विद्युत्को माग उल्लेखनीय रुपमा वृद्धि भएको छ । हरेक वर्ष औसतमा २० प्रतिशतका दरले विद्युत्को माग बढेको पाइएको छ ।
विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार, गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड) ३०० मेगावाटको हाराहारीमा बढेको छ। आन्तरिक रुपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ।
विद्युतीय चुल्हो, एयर कन्डिशनलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा वृद्धि भएको पाइएको छ ।सरकारीस्तरबाट चार्जिङ स्टेशन निर्माणको प्रक्रिया अगाडि नबढेको भए पनि निजी क्षेत्रले आफ्नै पहलमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन्। त्यसले विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि भएको छ।
ठूला उद्योगलाई माग अनुसारको बिजुली उपलब्ध गराइएको छ। उद्योगले पर्याप्त विद्युत् पाएका कारण उत्पादन क्षमतामा वृद्धि भएको छ । त्यसबाट दैनिक रुपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिम सातादेखि नै देशकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ। चिनियाँ लगानीको अर्को हुवासिन सिमेन्ट उद्योगले पनि २० मेगावाट बिजुली जोडेको छ।
विद्युत्को माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवै बढिरहेको छ । मङ्सिर २७ गते प्रणालीमा विद्युत्को उच्च माग एक हजार ५३९ मेगावाट थियो । गत वर्षको सोही दिनको माग एक हजार २१७ मेगावाटको थियो । गत वर्षको तुलनामा यो ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युत्को पिक डिमाण्ड गत वर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशतले वृद्धि भएको छ । गत मङ्सिर २७ गतेको प्रणालीको पिक डिमाण्ड पूर्तिका लागि प्राधिकरणका विद्युत् गृहबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युत्गृहबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ । काठमाडौँ उपत्यकामा विद्युत्को अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौँ उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । यसले पनि काठमाडौँ उपत्यकामा पनि उल्लेख्य रुपमा बिजुलीको मागमा वृद्धि भएको देखिन्छ । उपत्यकामा विद्युतीय चुल्होको प्रयोगमा वृद्धि भएको पाइएको छ । ऊर्जाका मागका आधारमा मङ्सिर २७ गते विद्युत् खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशतले बढी हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि भएको बताए । उनले विद्युत्को माग अहिलेकै रुपमा बृद्धि भयो भने चालू आवको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए ।
दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ ।
प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगलाई परिमाण खुलाएर तत्काल आवेदन दिन आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।