काठमाडौं । किरात समुदायले आइतबार उधौली पर्व मनाउँदै छन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउने गर्दछन् ।
आइतबार (आज)को दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् । बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने प्रचलन छ ।
भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने प्रचलन छ । यस्तै, घरघरमा मिठो परिकार पकाएर खाने, आफन्तकहाँ जाने प्रचलन पनि छ ।
जाडो याम सुरु भएपछि उधौली याम सुरु भएको मानिन्छ । यस याममा जाडो छल्न चराचुरुङ्गी‚ माछा माथिल्लो भेगबाट तल्लो भेगमा झर्ने गर्छन् । पहाडी भेगमा पैंयु फुलेपछि उधौली याम लागेको भनी मानिन्छ ।
उधौली पर्वको अवसरमा किरात समुदायको बाक्लो बसोबास रहेको ठाउँमा आज मेला‚ महोत्सव पनि आयोजना गरिन्छ । मेलामा याःलाङ (धाननाच)‚ केलाङ (च्याब्रङ नाच)‚ साकेला नाचलगायत परम्परागत नाच नाचेर रमाइलो गरिन्छ। यस्तै‚ परम्परागत खेलहरूको पनि आयोजना गरिन्छ ।
यस समुदायमा बाली लगाउने बेलामा उभौली पर्व मनाइने प्रचलन छ । वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरात समुदायले आज उभौली पूजा गरेपछि तल्लो भेगबाट माथिल्लो भेगमा जाने गर्छन् ।
यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइन्छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा ईश्वरलाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ ।