काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना जारी छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ८०० मत गन्दा शशांक कोइराला पहिलो नम्बरमा छन् ।
शशांकलाई शेखर कोइरालाले घोषित रूपमा आफ्नो टिममा राखेका थिए । तर, शेखरसंग शशांक स्पष्ट नखुलेपछि शेरबहादुर देउवा समूहले पनि आफ्नो पक्षमा राखेर मत मागेको थियो ।
यस्तै, दोस्रो नम्बरमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाण छन्। तेस्रो स्थानमा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की छन् ।
चौंथोमा रामहरि खतिवडा, पाँचौंमा अर्जुननरसिंह केसी, छैटौंमा रमेश लेखक, सातौंमा एनपी साउद, आठौंमा रामशरण महत र नवौंमा दिलेन्द्र प्रसाद बडू छन् । बलबहादुर केसी १०औं स्थानमा छन् ।
शशांक कोइरालाबाहेक खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको अग्रता कायमै छ । केसीद्वय, महत र बडु शेखर कोइराला पक्षका हुन् ।
केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। गत सोमबार सम्पन्न निर्वाचनमा कूल ४६७२ मत खसेको थियो ।
बिहान करिब ११ बजेदेखि मतगणना जारी छ । अन्तिम परिणाम आउन मतगणना सुरु भएको समयबाट ९ घण्टाभन्दा बढी लाग्ने निर्वाचन समितिले जनाएको छ ।