काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट सडकखण्ड निर्माणको काम तत्काल सम्पन्न गर्न माग गरेको छ । ७ पटक सम्झौताको म्याद थप गर्दा पनि सडकले पूर्णता नपाएकोले नगरपालिकाले निर्माणको काम तत्काल सम्पन्न गर्न माग गरेको हो ।
कमलविनायकबाट भत्केको पाटी हुँदै नगरकोट जाने सडक निर्माणको लागि ८ वर्षअघि ठेक्का सम्झौता भए पनि अलपत्र अवस्थमामा रहेको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक सुधार आयोजना कार्यालय बबरमहलले भारतीय निर्माण कम्पनी एआइपीएल र नेपाली निर्माण कम्पनी सैलुङ कन्सट्रक्सनलाई ठेक्का दिएको थियो ।
करिब १५ किलोमिटर लामो यो सडक २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने सम्झौता थियो । सडक निर्माणका लागि असोज २८ गते अन्तिम म्याद अवधि भए पनि चैत मसान्तसम्म थप गरिएको छ ।
सडक निर्माण अलपत्र पर्दा स्थानीय दैनिक धुलो र धुवाँका कारण सास्ती खेप्दै आएका छन् । निर्माण कम्पनीको मनपरीले निर्माणमा ढिलाई भएको स्थानीयको गुनासो छ ।
नगरपालिकाले अन्तिम म्यादसम्म सडक निर्माण नभएमा पालिकाको नेतृत्वमा आन्दोलन गर्ने जनाएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रले सडक निर्माणको लागि पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गरेपनि त्यसको कुनै सुनुवाई नभएको गुनासो पोखेका छन् ।
उनले समयमा सडक निर्माण नगर्ने कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्न पनि माग गरिएको बताए । अब नगरपालिकाको पहलमा सडक निर्माण गर्ने योजना छ ।
सडक निर्माणको मागस्वरुप यही पौष ७ गते सडक निर्माण कार्य अलपत्र परेको विषयमा सरोकारवालासँग अन्तरक्रिया गर्ने, ११ गते जिल्ला प्रसासन कार्यालय घेराउ, १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ र आवश्यकताको आधारमा ठेकेदार कम्पनीको कार्यालय / निवास घेराउ, माइतीघर मण्डलामा धर्ना र अरनिको राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सडक निर्माणको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको र निर्माण कम्पनीले १० प्रतिशत क्षतिपूर्ती लगाएको पनि नगरपालिकाले जनाएको छ ।