काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलका महामन्त्री पदका उम्मेदवार गगन थापाले अब कुनै गुटको होइन, समग्र नेपाली कांग्रेसको सभापति बन्न नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
समूहका तर्फबाट महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आज आयोजित कार्यक्रममा उनले भने, ‘सभापतिलाई खुला आग्रह छ, अब धेरै कुरा नयाँ इनिङ्समा बदल्नुपर्छ, अब गुटको सभापति होइन, सिंगो कांग्रेसको सभापति बन्नुपर्छ, सबैको सभापति बन्नुपर्छ।’
उनले परिणाम आइसकेपछि गुटलाई धन्यवाद दिनुपर्छ र अब बालुवाटार या बुढानीलकण्ठमा अबदेखि गुटको बैठक राख्दिनँ भनेर नयाँ यात्रा गर्नसक्नुपर्ने बताए।
अब गुटभन्दा माथि उठ्न शेखर कोइरालाको नेतृत्वलाई दबाब सिर्जना गर्ने पनि उनले बताए।
थापाले नेतृत्वसँग अब सहकार्य र संघर्षको सम्बन्ध हुने पनि बताए। ‘पार्टीलाई मजबुत र सफा बनाउने कुरामा अब सबैको सहकार्य हुनेछ, यसमा पार्टीको नेतृत्व चुके संघर्ष हुनेछ, अब नेतृत्वसँग सहकार्य र संघर्षको हुनेछ,’उनले भने।
उनले शेखर कोइराला समूहले ४० प्रतशित मत प्राप्त गरेको उल्लखे गर्दै यसका नाममा भागबण्डा गर्ने विगतको गल्ती नदोहोर्याउन सबैलाई सचेत गराए।