काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको पुस ३ गतेभित्र टुंगो लगाउन निर्देशन दिएको छ ।
पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएकाले तत्काल प्रदेश पदाधिकारी टुंगो लगाउन मातहतका कमिटीलाई माओवादी केन्द्रले निर्देशन दिएको हो ।
पुस २ गतेभित्र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि नामसहित सबै विवरण पठाउनु पर्ने भएकाले प्रदेश पदाधिकारी छिटोभन्दा छिटो टुंगो लगाउन निर्देशन दिइएको पार्टी स्थायी समिति सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
माओवादीका सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश समिति गरि ९ मध्ये ६ वटामा अध्यक्षसहित पदाधिकारीमा विवाद हुँदा टुंगो लाग्न सकेको छैन ।
अहिलेसम्म उपत्यका विशेष प्रदेश समिति अध्यक्ष जगत सिंम्खडा, सम्पर्क समन्वय प्रदेश अध्यक्ष श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङको मात्रै नेतृत्व टुंगो लागेको छ ।
प्रदेश–१, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्वसहित पदाधिकारीमा सहमति हुन सकेको छैन। प्रदेश अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि प्रदेश समिति मात्रै घोषणा गरिएको छ ।
प्रदेश अध्यक्ष र पदाधिकारी बन्नका लागि पार्टी केन्द्रीय सदस्यले नै दाबी गर्न थालेपछि सकस भएको हो । सबै प्रदेशमा प्रदेश समिति बने पनि अध्यक्षसहित पदाधिकारी टुंगो लगाउन वाँकी रहेको र त्यसलाई टुंग्याउनु पर्ने उर्जा जलस्रोत तथा सिचाई मन्त्रीसमेत रहेकी भुसालले बताइन् ।
प्रदेश सम्मेलन सकिएपछि मात्रै राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिको छनोट हुने भएकाले तत्काल टुंगो लगाउन निर्देशन दिएको हो । तर, प्रदेश नम्बर दुईको उद्घाटन भए पनि पुस ३ गते मात्रै बन्दसत्र हुने भएको छ । यस प्रदेशमा पालिका अधिवेशन हुन वाँकी भएकाले प्रदेश बन्दसत्र पुस ३ गते सारिएको केन्द्रीय सदस्य विश्वनाथ साहले जानकारी दिए ।