काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिनामा पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा गिरावट भएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन बुधबार सार्वजनिक गर्दै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ७.५ प्रतिशतले घटेर तीन खर्ब १२ अर्ब ४२ करोड भित्रिएको जनाएको छ ।
अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह ७.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तसम्म अमेरिकी डलरमा दुई अर्ब ६३ करोड रेमिट्यान्स आएको छ । आयात बढेसँगै औपचारिक माध्यमबाट आउने रेमिट्यान्स घट्दै गएको छ ।
अर्कोतर्फ, सुनचाँदीलगातय वस्तु अनौपचारिक माध्यमबाट आयात गर्न पनि रेमिट्यान्सको प्रयोग हुने गरेको सरकारी अधिकारीहरु बताउँछन् । जसले गर्दा ‘फर्मल च्यानल’बाट आउने रेमिट्यान्स घटेको छ ।
गत आर्थिक वर्षमा कोभिड–१९ का कारण नेपालको प्रमुख श्रम गन्तव्यहरुमा जाने नेपालीका लागि श्रम स्वीकृति बन्द रहेको थियो । तर, कोभिड प्रभाव कम हुँदै गएसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६ हजार ३८२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५९ हजार ७२३ पुगेको राष्ट्र बैंकले जनाएको छ ।