काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पद र प्रतिष्ठाको स्वार्थी राजनीति गरेको बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
‘नेपाली कांग्रेसभित्र पदप्रतिको आशक्ति, पदलोलुपता र प्रलोभनको कुराबाट मुक्त भएर त्यो भन्दा माथि उठेको देखिएन । राजनीतिमा लोभले धेरै अपराधहरु जन्माउँछ । संसारभरि लोभलाई अपराध र पापको पनि पिता मानिन्छ,’ उनले, ‘महाधिवेशनमा कुठाराघात भएको छ । कार्यकर्ताको मन भाँचिएको छ । आम कार्यकर्ताहरु वेदना र पीडाले ग्रस्त भएका छन् ।’
साथै नेता घिमिरेले पार्टीको लोकतान्त्रिक मूल्य र मान्यताका कारण जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्नुको विकल्प नरहेको पनि बताएका छन् ।
उनले भने, ‘खाली लोकतान्त्रिक मूल्य र मान्यताका कारणले जस्तो सुकै परिणाम आएको भएपनि स्वीकार गर्नुको विकल्प छैन । तर आज कार्यकताहरुको मन रोएको छ । देशभरि पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने, पार्टीलाई विधि र पद्धति संगत बनाउने भन्ने मान्यता हो त्यो मान्यतामाथि एक पटक फेरि प्रहार भएको छ ।’
उनले लोकतन्त्रवादीहरुले विजय पराजयको चिन्ता नगरी प्रतिस्पर्धालाई खुल्लारुपबाट आगडि बढाउने र त्यसको नतिजालाई स्वीकार गर्नुपर्छ भन्ने मान्यता राख्ने गरेको बताए ।
पार्टीलाई परिवर्तन र सुधार गर्ने पक्षधरहरुमा माथि खनिने, प्रहार गर्ने काम भएको उनले बताएका छन् । साथै उनले पार्टीलाई परिवर्तन गर्ने, सुधार तथा व्यवस्थित गर्ने भनि लगाइएको नारा नारामा मात्रै सीमित भएको बताएका छन् ।