काठमाडौं । राजस्व छल्न नयाँ–नयाँ तरिका अपनाएर काँचो सुन नेपाल भित्र्याउने गरेको खुलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ । कार्यालयले अन्तर्राष्ट्रिय हवाई यात्रुले ल्याउने सुनको जाँचमा कडाई गर्न थालेपछि राजस्व छलेर काँचो सुन नेपाल भित्र्याउने गरेको खुलेको हो ।
सरकारले २०७७ जेठ १५ गतेदेखि लागु हुनेगरी जारी गरेको ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश’ अनुसार विमानस्थल भन्सार कार्यालयले मंसिर १३ गतेदेखि जाँचमा कडाई सुरु गरेको छ । त्यसपछि राजस्व छली गर्न नयाँ तरिका अपनाएर सुन भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।
कतारमा खरिद गरिएको सुनको बिलसमेत नेपाली भाषामा उल्लेख भएको पाइएको छ । कतारबाट नेपाल आएका शान्तमान तामाङले सुनका गहना भनेर ल्याएको बिल नै नक्कली फेला परेको हो ।
काँचो सुनलाई भन्सार छुट नहुने भएपछि भन्सार छल्ने उद्देश्यले उनले गहनाको आकारमा सुन ल्याएको पाइएको छ । त्यसका लागि बनाइएको बिलमा समेत नेपाली भाषामा ‘जर्ती काटेको’ उल्लेख गरेको पाइएको छ ।
काँचो सुनको तारलाई बेरेर बाला आकार दिई गहनाको रुपमा भित्र्याएर भन्सार छल्ने गरेको पाइएपछि विमानस्थल भन्सार कार्यालयले धमाधम नियन्त्रणमा लिन थालेको थियो। बाला आकारको काँचो सुनमा कडाई गर्न थालेपछि नयाँ स्वरुपमा काँचो सुन भित्रिन थालेको भट्टराईले बताए ।
अहिले सुनको तारलाई ८/९ फन्कोसम्म बेरेर बेरुवा औँठी जस्तो देखाएर तथा काँचो सुनलाई साना–साना टुक्रा पारेर हुकिङ गरी सिक्रि र ब्रासलेटको आकारमा ल्याउने गरेको पाइएको छ । यसरी ५० ग्रामसम्मका काँचो सुन भित्रिने गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
यसैबीच, विदेशबाट भित्रिएको काँचो सुनमध्ये ८० प्रतिशत सुन तस्करहरुले भित्र्याएको भन्सार कार्यालयले जनाएको छ । विमानस्थल भन्सार कार्यालयले सुन ल्याउने यात्रुलाई तीन वर्गमा बाँडेर अनुसन्धान गरेको थियो ।
वैदेशिक रोजगारीमा गई स्वदेश फर्कंदा व्यक्तिगत प्रयोजनका लागि सुन खरिद गरेर ल्याउने, पर्यटक भिसामा विदेश गएर फर्कंदा व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउने र वैदेशिक रोजगारीबाट फर्कंदा भरियाको रुपमा अन्य व्यक्तिको सुन ल्याउने गरी तीन वर्गमा बाँडेर भन्सार कार्यालयले अनुसन्धान गरेको थियो ।