काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना बुधवार अपराह्नबाट सुरु हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको महाधिवेशनमा मंसिर २७ गते भएको निर्वाचनको बाँकी मतगणनाको कार्य बुधबारबाट प्रारम्भ हुने जनाएको हो ।
निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले बुधवार अपरान्ह्बाट मतगणना शुरू गरिने सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो ।
पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएपछि मंगलवार पुनः मतदान भएको थियो । दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । मंगलवार राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए ।
दोस्रो चरणको निर्वाचनमा कूल ४ हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो । सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए ।
उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिने बताए । कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मंसिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औं महाधिवेशन उद्घाटन भएको थियो ।
मतदानका लागि राष्ट्रिय सभागृहमा १ स्थान र भृकुटीमण्डपमा २ स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।