काठमाडौं । चीनसँगको व्यापारिक नाका रसुवागढीबाट विद्युतीय गाडीको आयात बढेको छ । यातायातको पहुँचलाई सहज बनाउनका लागि नेपाली व्यापारी, व्यवसायीले चिनियाँ विद्युतीय गाडीको आयात गरिरहेका छन् ।
२०७५ चैतदेखि २०७८ मङ्सिर २७ गतेसम्म तीन सय १८ वटा विद्युतीय गाडी आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए । आयात गरिएका गाडीमध्ये ५४ वटा डबल क्याबिन पिकअप र दुई सय ६४ वटा कार रहेका छन् ।
आवाज र धुँवारहितका चिनियाँ कार नेपाल भित्रिएका हुन् । नाकाबाट आयात भएका ती गाडी भन्सार प्रक्रिया पूरा गरेर काठमाण्डौ पठाइएको प्रमुख भन्सार अधिकृत मैनालीले उनले बताए । आवाज र धुँवारहित ती कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा सहज हुने कार्यालयले जनाएको छ ।
२०७६ माघ यता नाकाबाट सामग्रीको आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो हप्तासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । चीनबाट तयारी अवस्थाका, विद्युतीय, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुढा, काठको कुर्सी, अम्रिसोको कुचोलगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।
२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी गाडी आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र गाडीको चाप बढ्दै गएको छ ।