काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत आइतबार १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप नेपाल आउँदै छ । आइतबार (आज) उक्त खोप आउने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।
नेपालमा गत शुक्रबार र बिहीबार गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ । सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयले उक्त उमेर समुहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरेको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएको छ ।
हिमाली जिल्लाका लागि १०० भन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकि जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको बताइएको छ ।
यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ । यी जिल्लाहरुमा फाइजर खोप पुगेपछि खोप लगाइने शाखाका प्रमुख दाहाल बताए ।