काठमाडौं । टाइगर ग्रुप अफ पोखराको आयोजनामा दोस्रो भलिबल प्रतियोगिता आगामी पौष २६ गतेदेखि हुने भएको छ । आमन्त्रिण खुल्ला क्लब च्याम्पियनसिप पुरुष–महिला भलिबल प्रतियोगिता पौष २६ देखि माघ १ गते सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुृरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लव, हेल्पनेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।
त्यस्तै महिलातर्फ पनि विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लव, सशस्त्र प्र्रहरीबल, न्यु डायमण्ड र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहने छ । दोस्रो संस्करणमा आफ्नै महिला टिमलाई मैदानमा उतार्न लागेको टाइगर ग्रुप टिमको नेतृत्व राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले गर्नेछिन् ।
यस पटक पुरस्कारको राशीमा पनि वृद्धि गरिएको छ । पुरुष–महिला उपाधि विजेता टिमले समान ३–३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५–२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई समान १०–१० हजारसहित ट्रफी प्रदान गरिने ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।