काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिवार उम्मेदवारी दर्ता भएको छ । सभापति, उपसभापति र महामन्त्रीका लागि ६/६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सहमहामन्त्रीमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय सदस्यमा थारुमा १४, मधेशीमा ३२, आदिवासी/जनजातिमा ८७, खसआर्यमा ९३, दलित ३९, महिला ३१, पिछडिएको क्षेत्र २, अपांग १६, अल्पसंख्यक ६, मुस्लिममा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश १ मा १३, प्रदेश २ मा ५, बागमतीमा ९, गण्डकी ७, लुम्बिनी ११, कर्णाली ७, सुदूरपश्चिम १२ र खुलामा १०२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा उम्मेदवारी दर्ता गराउनेमा वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन् ।
देउवा प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदार उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै शेखरको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रभावशाली युवा नेता गगन थापा र मीनेन्द्र रिजालको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खुलातर्फ देवराज चालिसे, महिलामा कमला पन्त, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, आदिवासी जनजातिबाट विकास लामा र अल्पसंख्यकबाट वकिल मिया उम्मेदवार बनेका छन् । शेखरको प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ छ ।
प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । पहिलो चरणको मतदानमा ५१ प्रतिशत ल्याउन नसकेको दोस्रोपटक पनि मतदान हुनेछ । त्यतिबेला भने शीर्ष २ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।