काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा विचलन आएको महसुस भएको बताएका छन् । सभापतिको प्रतिस्पर्धाबाट अलग रहेको घोषणापछि वक्तव्य जारी गर्दै पौडेलले पार्टीभित्र विचलन आएको गुनासो गरेका हुन् ।
’पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ’, पौडेलले भनेका छन्, ’म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु ।’
उनले कांग्रेसमा विचलन आइरहेको भन्दै सचेत पनि गराएका छन्, पार्टीका लागि शीर्ष नेताले गरेको त्याग र संघर्ष निरर्थकमा परिणत भएको समेत उनको गुनासो छ ।
’मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भ¥याङमा सीमित नहोस् भनेर यस्का संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले आर्दश र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडाबोध भइरहेछ’, पौडेलले भनेका छन्, ’कांग्रेसलाई आज केवल सत्ताको भ¥याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।
विज्ञप्तिको पूर्णपाठ
पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ ।
म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु ।
मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिए, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भन्याङमा सीमित नहोस् भनेर यस्का संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले आर्दश र मूल्यका लागि जीवनभर लड्नु भयो, सङ्घर्ष गर्नु भयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ । कांग्रेसलाई आज केवल सत्ताको भन्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।
चौधौं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु । प्रजातन्त्रका मूल्य मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगे ।
तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु । लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरि नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने छन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन । रास्ट्रिय राजनीतिमा मेरो भूमिका रही रहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।