भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य,पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले एमाले प्रतिपक्षमा भएपनि विकासमा सत्तापक्षको काम गरेको बताएका छन् ।
६ करोड लागतमा निर्माण हुन लागेको भक्तपुरको बालकोट, सिरुटार, विरुवा, तर्खगाल, काँठ, चक्रपथ सडक शिल्यान्यास गर्दै बस्नेतले एमाले सत्तामा भएपनि प्रतिपक्षमा भएपनि विकास गर्न सक्षम रहेको बताए ।
उनले भने, ‘अहिले पनि सत्तापक्षकै कतिपय साथीहरु हामीलाई गाली गरिरहनुहुन्छ, अहिले तपाईहरु गाली गरिरहनुहोला, हामी विकास गरिरहन्छौं । तपाईहरुसँग हामी निर्वाचनमा भेटौंला ।’
अहिलेको गठनबन्धन सरकार गठन भएको ४ महिना बितिसक्दा पनि भक्तपुरको विकासका निम्ति ४ हजार पनि विनियोजन नभएको बस्नेतले बताए । विगतमा भक्तपुरका लागि विनियोजन गरिएको विकास बजेट समेत अहिलेको सरकारले कटौती गरेको बताउँदै बस्नेतले भने, ‘सक्नुहुन्छ भने हामीले विगतमा विनियोजन गरेको बजेटलाई कार्यान्वयन गर्न दिनुस्, तर विकास बजेट काटेर राजनीतिक गर्ने कोसिस नगर्नुस् । जनताले हरेक गतिविधिहरुलाई राम्रैसँगै मूल्याङ्कन गरिरहेका छन् ।’’
ठिमी, गाम्चा, तर्खगाल सडक निर्माण योजनालाई वर्तमान सरकार आएपछि रातो किताबाट काट्ने काम भएको बताउँदै बस्नेतले विकासमा कहिलेपनि अस्वस्थ प्रतिपस्पर्धा नगर्न सत्तापक्षलाई सचेत गराए । उनले भने, ‘हामी जहिलेपनि स्वस्थ राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्छाैं । विकासमा सदैव ऐक्यबद्धता गरौैं, राजनीतिमा प्रतिस्पर्धा गरौं ।’
अहिले जुनसुकै पार्टीमा पनि एमाले र केपी ओलीकै बारेमा चर्चा हुने गरेको बताउँदै बस्नेतले मुलुकमा अहिलेपनि एमाले र केपी ओलीकै आवश्यकता रहेको बताए ।
अहिलेपनि कतिपय अवस्थामा सामन्तवादी चिन्तन हावी भएका कारण छिटो गतिमा विकास हुन नसकेको बताउँदै बस्नेतले कतिपय बलबहादुर, शक्तिबहादुर र धनबहादुरले भक्तपुरको विकासमा अवरोध सिर्जना गरेको बताए ।
उनले भने, ‘विगतमा जस्तो सामन्तवादी सोच र चिन्तनले काम गर्ने दिन अब गए, सूचना र प्रविधिको युगमा यस्ता चिन्तनहरुको अब समाप्त हुन्छ ।