काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन क्लबसँग मात्र पोखरामा खेल्ने टुङ्गो लागेको हो ।
सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित ए डिभिजन लिगमा बढीमा ६ खेल मनाङलाई पोखरामा दिने तयारी थियो । विभागीय टिम पुलिस सहित तीन क्लबले प्रस्ताव स्विकार गरेसँगै मनाङले तीन खेल पोखरा रंगशालामा खेल्ने टुङ्गो लागेको हो ।
एन्फा स्रोतका अनुसार मनाङले पोखरा रंगशालामा विभागीय टिम पुलिस सहित ब्रिगेड ब्वाईज र च्यासल युथ क्लबसँग खेल्नेछ । ए डिभिजन लिगलाई काठमाडौं बाहिर लैजान एन्फाले प्रोत्साहन गर्दै आएको छ ।
सोही अनुसार मनाङले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा विकास गर्ने निर्णय लिएको हो । यस वर्ष केही खेल पोखरा लगेर अर्को सिजनबाट आफ्ना सबै ‘होम’ खेल पोखरा रंगशालामा खेल्ने मनाङको तयारी छ ।
जिल्लाको प्रतिनिधित्व गर्ने भएपनि मनाङ काठमाडौंमा अवस्थित क्लब हो । मनाङ गण्डकी प्रदेशमा पर्ने जिल्ला भएकाले पोखरालाई क्लबले घरेलु मैदानको रुपमा विकास गर्न लागेको हो ।
यस वर्षको लिगका केही खेल पोखरामा लैजान क्लबले तयारी गरिरहेको छ । पोखरा रंगशालामा यतिबेला मैदान मर्मत, सम्भारको काम समेत भैरहेको छ ।
एन्फाले यस सिजन तीन चरणका लिगका खेल दशरथ रंगशलामा खेलाएको छ । केही खेल नवनिर्मित ललितपुरको च्यासल मैदानमा खेलाउने एन्फाको तयारी छ ।
पोखरा रंगशालालाई समेत एन्फाले लिग खेलाउने नयाँ गन्तव्यको रुपमा राखेको छ । सोही अनुसार मनाङले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने टुङ्गो लागेको हो ।