काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारदेखि काठमाडौंमा शुरू हुँदैछ। पटक–पटक सर्दै आएको कांग्रेसको महाधिवेशन निर्धारित मितिभन्दा एक वर्ष ढिलागरी हुन लागेको हो । शुक्रवार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको व्यवस्थापकीय तयारी पूरा भएको जानकारी दिए । बिहीवार कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो । बिहीवार बेलुकासम्म पनि महाधिवेशनको उद्घाटन स्थलमा मञ्च व्यवस्थापनको तयारी चलिरहेको छ। उद्घाटन समारोहलाई कांग्रेस पदाधिकारी तथा प्रमुख दलका नेताहरूले सम्बोधन गर्नेछन् । पछिल्लो समय तिक्ततापूर्ण सम्बन्ध रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट पनि कांग्रेसको मञ्चमा हुने सम्भावना छ ।
कांग्रेसका नेताहरूको सम्बोधन भन्दा विघटित नेकपाका नेताहरूलाई एउटै मञ्चमा देखिनु कांग्रेस महाधिवेशनको आकर्षण हुने देखिएको छ । कांग्रेस महाधिवेशनमा भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईका प्रतिनिधिहरूले सम्बोधन गर्नेछन् ।
उम्मेदवार छान्न सकस
महाधिवेशन उद्घाटनको अघिल्लो दिनसम्म पनि कांग्रेसमा उम्मेदवारको प्यानल बन्न सकेको छैन । उम्मेदवार छान्न संस्थापन र संस्थापन इतरलाई महाभारत भएको छ । संस्थापन पक्षले सभापतिमा शेरबहादुर देउवालाई उठाउने निर्णय गरेपनि अन्य पदाधिकारीको टुंगो लागेको छैन । महामन्त्रीका आकांक्षी धेरै हुँदा देउवालाई प्यानल बनाउन अप्ठेरो परेको छ । उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई व्यवस्थापन गर्ने तयारी भएपनि महामन्त्रीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई सकस परेको छ ।
महामन्त्रीका लागि गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत मुख्य आकांक्षी देखिएका छन् । संस्थापन समूहबाट प्रवक्ता विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यद्वय रमेश लेखक तथा एनपी साउदले पनि महामन्त्रीमा दाबी गरेका छन् । नेताको व्यवस्थापनका लागि सहमहामन्त्री थप गर्ने तयारी देउवा पक्षले गरेपनि रामचन्द्र पौडेलको विरोधका कारण सो प्रस्ताव बिहीवार केन्द्रीय समितिमा पेश हुन सकेन । यता संस्थापनइतर पक्षले सभापतिको नाम नै टुंग्याउन सकेको छैन ।
संस्थापन इतरबाट डा. शेखर कोइराला कि प्रकाशमान सिंह भन्ने विषयमा सहमति जुट्न सकेको छैन । सभापतिको साझा उम्मेदवार बनाउन भन्दै संस्थापन पक्षइतरका नेताहरूले सोमवारदेखि छलफल गरेपनि कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । संस्थापन इतरमा पदाधिकारीभन्दा सभापतिको उम्मेदवार छान्न महाभारत छ । सभापतिको टुंगो नलागे पनि संस्थापन इतरबाट गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सभापतिका आकांक्षी सबै नेताको रोजाइमा परेका गगनले बिहीवार आफ्नो अवधारणापत्र सहित उम्मेदवारी घोषणा गरेका हुन् । संस्थापन इतरबाट महामन्त्रीका लागि मीनेन्द्र रिजाल र धनराज गुरुङले पनि दाबी गरेका छन् ।
उपसभापतिका लागि चन्द्र भण्डारी र महेश आचार्यले दाबी पेश गरेका छन् । सभापतिको टुंगो लागेपछि मात्र अन्य पदाधिकारीको व्यवस्थापन गरिने संस्थापनइतर पक्षका नेताहरूले बताएका छन् । विगतमा संस्थापन पक्षमा रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । तर, उनले एक्लै उम्मेदवारी दिने या प्यानल बनाउने भन्ने अझै निर्णय गरेका छैनन् ।
३ ठाउँबाट मतदानको व्यवस्था
नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ । महाधिवेशनस्थल भृकुटी मण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।तीन ठाउँमा व्यवस्थित ढंगले मतदानको व्यवस्था गरिएको उनले बताए । मतदाता (महाधिवेशन प्रतिनिधि)ले शुरूमा सभापतिका लागि भोट हाल्ने छन् । सभापतिको भोट बाकसमा खसालेपछि उपसभापति र त्यसपछि क्रमश महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन् ।
हालै सम्पन्न महाधिवेशनमा नेकपा एमालेले विद्युतीय मतदानको व्यबस्था गरेको भएपनि नेपाली कांग्रेसले भने मतपत्रमा नै भोट हाल्ने व्यबस्था गरेको छ । ‘ब्यालेटमा पेपर प्रयोग गर्ने यो कांग्रेसको अन्तिम महाधिवेशन हुनेछ’ शर्माले भने, ‘अन्य विषयमा अरु दलभन्दा हामी पहिलै डिजिटल प्रविधिमा गएका हौं, विद्युतीय मतदानमा भने हामी अब जानेछौं ।’
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंसिर २५ गते शनिवारदेखि प्रक्रिया शुरु हुँदैछ । २५ गते बिहान १० बजेदेखि साझ ५ बजेसम्म उम्मेदवारी मनोनयन र मंसिर २७ गते मतदान गर्ने कार्यक्रम छ । मतदान सकिएलगत्तै शुरुमा सभापतिको मतगणना गर्नेगरी तयारी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।