ललितपुर । कोभिड–१९ बाट प्रभावित जोखिम न्यूनीकरण गर्ने अभियान अन्तर्गत सुजी फाउण्डेशनले नेपाल पत्रकार मञ्चलाई मायाको आहार ‘फूड अफ लभ’ प्रदान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनीकरण गर्ने अभियानमा मुलुकभर यो कार्यक्रम सञ्चालन गरिरहेको फाउण्डेशनका राष्ट्रिय संयोजक डा.प्रियारत्न महर्जनले नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गरे ।
‘फूड अफ लभ’ हस्तान्तरण गर्दै फाउण्डेशनका राष्ट्रिय संयोजक डा.प्रियारत्न महर्जनले कुनैपनि मानवीय विपत हुँदा विश्वव्यापी रुपमा फाउण्डेशनले यस्ता राहत कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनले भने, ‘नेपालमा विगतमा ०७२ सालको भूकम्प जाँदा पनि फाउण्डेशनका तर्फबाट तत्काल राहत सामग्री वितरण गर्न लागिपरेका थियौं । अहिले पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका क्रममा देशका विभिन्न स्थानहरुमा प्रत्यक्ष रुपमा विभिन्न स्वास्थ्य सामग्री लगायत खाद्यान्न सामग्रीहरु समेत हामीले वितरण गरिरहेका छौं ।’
फाउण्डेशनले कोरोना महामारीकै बेला पनि नेपाल भर १ लाख २५ हजार बढी परिवारलाई राहत सामग्री वितरण गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले कोरोना महामारीका बेला पत्रकारहरुका निम्ति लक्षित मायाको आहार ‘फूड अफ लभ’ प्रदान गरेकोमा फाउण्डेशनलाई धन्यवाद दिँदै कुनै पनि विपत्तिविरुद्ध सामूहिक रुपमा लड्नुपर्ने बताए ।
उनले विगतमा पनि फाउण्डेशनले नेपाल पत्रकार मञ्चसँग सहकार्य गरेर अग्रभागमा क्रियाशील हुने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको स्मरण गर्दै आगामी दिनमा समेत यस्ता कार्यमा सहकार्य गर्न सकिने बताए ।