काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका लागि १५ विषयलाई छलफलको एजेन्डा बनाउने भएको छ । पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो एजेन्डा तय गरेको हो ।
एमालेले मंसिर २५ र २६ गते बोलाइएको केन्द्रीय कमिटी बैठकका लागि १५ एजेन्डा तय गरेको छ । अध्यक्ष केपी ओलीसँग परामर्श गरेर महासचिव शंकर पोखरेलले कार्यालय बैठकबाट एजेन्डा तय गरेका हुन् ।
थापाथलीस्थित कार्यालय साँघुरो भएपछि बैठक जर्मन हाउस, हस्पिटालिटी गठ्ठाघरमा बिहीबार बिहान ११ बजे बोलाइएको छ । तीनमहिने अभियान सञ्चालनको कार्ययोजनादेखि कमिटीहरूको पूर्णता, कार्यविभाजनसहितका सबैजसो विषय एमालेले केन्द्रीय कमिटी बैठकबाटै टुंग्याउने योजना बनाएको छ ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बाँकी केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद्को गठन र कार्य विभाजन बैठकका एजेन्डा छन् ।
त्यस्तै, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान पनि एमालेले दोस्रो केन्द्रीय कमिटी बैठकको कार्यसूची बनाएको छ ।
कार्यालय सचिव तामाङले कम्तीमा तीन महिना पार्टी केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना नरहेकाले केन्द्रीय कमिटी बैठकमा धेरै एजेन्डा छलफलका लागि राखिएको बताए । एमालेले आसन्न केन्द्रीय कमिटी बैठकमै केन्द्रीय सदस्य मनोनयनको एजेन्डा राखेको छ ।
केन्द्रीय कार्यालय सचिव तामाङले अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनका अध्यक्षका प्रत्यासी भीम रावलसँग मनोनयनका विषयमा छलफल गर्ने बताए । दुई सय २३ मत ल्याएर अध्यक्षमा पराजित रावल केन्द्रीय कमिटी सदस्यमा पनि नौ सय चार मत ल्याएर पराजित भएका थिए ।