काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीका सम्बन्धमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ ।
बिहीबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाएको एक नेताले जानकारी दिए । प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक अजेण्डाका विषयमा समेत छलफल हुने ति नेताले बताए ।
यस्तै बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीति प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने बताएको छ ।
माओवादीमा सात भौगोलिक, विशेष, सम्पर्क र प्रवास गरेर १० प्रदेशको अवधारणा बनाइएको छ । ति प्रदेशको सम्मेलन शनिबार देशैभर दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयबाट प्रचण्डले दशैं प्रदेशको उद्घाटन र सम्बोधन गर्ने छन् ।
प्रदेश नेतृत्व सकेसम्म सर्वसम्मत नभएमा निर्वाचन गर्न सात सदस्यीय निर्वाचन समितिसमेत बनाइसकेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए ।
प्रदेशमा एक संयोजकसहित अरु ६ जना सदस्य हुने भएका छन् । माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ । माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ । महाधिवेशनमा १ हजार ५ सय भन्दा धेरै प्रतिनिधि देशैभरबाट सहभागी हुने छन् ।