काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताएकी छन् ।
भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दे उनले सफलता, सिकाइ र अनुभवबाट उठेर विपद्मुक्त मुलुक बनाउन आह्वान गरिन् ।
विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकका परकम्पले नेपालीलाई विपद्मा पार्नाका साथै पाठसमेत सिकाएको राष्ट्रपति भण्डारीले जानकारी गराइन् । भूकम्पले नभई निर्माण भएका कमजोर संरचनाले क्षति गर्ने भएकाले बलियो पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा पुनःनिर्माण अवधि उपयोग भएको विश्वास उनले विश्वास व्यक्त गरिन् ।
साढे छ वर्षअघिको भूकम्पले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण महाअभियान २०७२ माघ २ गते सुरु भएको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले समुदायले स्वामित्व लिने गरी पुनःनिर्माणका काम भएकाले दिगो हुने विश्वास व्यक्त गरे । विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदाजस्ता संरचना पुनःनिर्माणमा प्राथमिकता दिएर काम भएअनुसार परिणाम प्राप्त भएको उनको भनाइ थियो ।
यस्तै, अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनः निर्माण ९० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै निर्माण प्रविधि र क्षमतामासमेत वृद्धि भएको बताए । भूकम्पले क्षति भएका निजी आवास यसै वर्ष पुनः निर्माण सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पनि उनले बताए ।
श्रव्यदृश्य सन्देशमार्फत भारतीय विदेशमन्त्री एस जयशङ्करले साढे छ वर्षअघिको भूकम्पले क्षति पुगेका २८ वटा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा भारतले सहयोग गरेको बताए । विद्यालय भवन, स्वास्थ्य संस्था र पुस्तकालय पुनःनिर्माणमा पनि भारतले सहयोग गरेको उनले सुनाए ।
श्रव्यदृश्य सन्देशमार्फत नै चिनियाँ विदेश मामिलामन्त्री वाङ यिले भूकम्पको लगत्तैपछिदेखि उद्धार, राहतका समयदेखि नै चीन नेपालको साथमा रहेको उल्लेख गर्दै पुनःनिर्माण सहयोग मिलेको बताए ।
कार्यक्रममा जापानका संसदीय एवं विदेश मामिला र उपमन्त्री होण्डा तारो, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, युरोपियन युनियन विपद् व्यवस्थापनका आयुक्त जनेज लेनार्किकलगायत विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालमा भूकम्पपछिको पुनः निर्माण सफल रुपमा अघि बढेको बताएका थिए ।