काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले केन्द्रीय सदस्यको उम्मेदवार चयन गर्न कमान्डर तोकेको छ । बुधबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको समूहको बैठकले केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न कमान्डर तोकेको हो ।
बैठकले केन्द्रीय सदस्यका उम्मेदवार तय गर्न सातै प्रदेशका संयोजकहरूलाई जिम्मेवारी दिने निर्णय गरेको देउवानिकट एक केन्द्रीय सदस्यले बताए ।
प्रदेश १ बाट ज्ञानेन्द्र कार्की, प्रदेश २ बाट रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशशरण महत, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखकलाई केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न जिम्मेवारी दिइएको छ । देउवाले क्लस्टरअनुसार नाम बढी नहुने गरी उम्मेदवार चयन गर्न निर्देशन दिएको ती नेताले बताए ।
सिटौलालाई मिलाउन सुझाव
बैठकमा सहभागी नेताहरूले आसन्न महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलालाई जसरी पनि मिलाउन सुझाव दिएका छन् ।
महाधिवेशनमा चुनाव जित्न सिटौलाको साथ अपरिहार्य रहेको भन्दै उनीहरूले जसरी पनि मिलाउन सुझाव दिएका हुन् ।
कुन नेताको दाबी कुन पदमा?
बैठकमा बोल्ने क्रममा नेताहरूले आ–आफ्ना दाबी प्रस्तुत गरेका छन्। बैठकमा सहभागी ती नेताकाअनुसार बालकृष्ण खाँण, प्रकाशशरण महत र विश्वप्रकाश शर्माले महामन्त्रीका लागि दाबी गरेका छन् ।
सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको पनि महामन्त्रीमा दाबी छ । त्यसैगरी विजयकुमार गच्छदारले उपसभापतिमा दाबी गरेका छन् । कांग्रेस विधानअनुसार दुईजना उपसभापति हुने व्यवस्था छ । अर्का एकजना उपसभापतिमा इतर समूहका नेतालाई व्यवस्थापन गर्ने रणनीति देउवा समूहको छ ।
महिला सहमहामन्त्रीका लागि डिना उपाध्याय, पार्वती डिसी र अम्बिका बस्नेतले दाबेदारी प्रस्तुत गरेका छन् ।किशोरसिंह राठौरले खस आर्य समूहबाट सहमहामन्त्रीमा दाबी गरेका छन् । दलित कोटाबाट मानबहादुर विश्वकर्मा, मुस्लिम कोटाबाट कमाल मुसलमान र फरमुल्लाह मन्सुर, थारू समूहबाट रामजनम चौधरी, महेन्द्र यादव र अजय चौरसियाले मधेशी कोटाबाट सहमहामन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् ।
वर्तमान सहमहामन्त्री सुनिल थापाले पनि सहमहामन्त्री पदकै लागि दाबी गरेका छन्। यसैगरी रमेश लेखकले सभापतिबाहेक सबै पदमा आफ्नो दाबी रहेको बताएका थिए।