काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठकमा सहभागी नहुने बताएका हुन् ।
बुधबार राजधानीको सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।
उनले पार्टीको चुनावमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको र त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने बताउँदै यही अवस्थामा बैठकमा सहभागी नहुने बताएका हुन् । यद्यपि थापाले आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बैठकमा सहभागी हुन निर्देशन दिएका छन् ।
थापाले बुधबार एक विज्ञप्तिमार्फत राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका थिए । निर्मल निवासबाट भएको हस्तक्षेप यो पहिलो घटना नभएको पनि थापाको भनाइ थियो ।
उनले निर्मल निवासमाथि आफूले चुनाव हारेबापतको आक्रोशमा आरोप नलगाएको पनि बताए थिए । तर, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धी आफ्नो र राप्रपाको नै आधारभूत मान्यतामाथि नै गम्भीर आघात भने पुगेको थापाको दावी छ ।
राप्रपाका नवनिर्वाचित केन्द्रीय सदस्य जनकराज पाठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजेका लागि बैठक बोलाएको जानकारी दिए । बुधबार बैठकको एजेण्डा खासै नभएको बताउँदै नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुको परिचयात्मक रहने उनको भनाइ छ ।
उनले थापाको सहभागिता रहने या नरहने बारे आफूलाई थाहा नभएको बताए । बैठकमा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको सहभागिता रहने बताइएको छ ।