काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासबाट महाधिवेशनमा भएको हस्तक्षेपपछि राजतन्त्रप्रतिको विश्वास नै डगमगाएको बताएका छन् ।
अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पहिलो पटक औपचारिक वक्तव्य निकाल्दै थापाले मंगलबार यस्तो भनेका हुन्।
उनले राप्रपाको केन्द्रीय निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको नाङ्गो हस्तक्षेप भएको पनि बताएका छन् ।
’केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको म घोर भत्सर्ना र निन्दा गर्दछु’, उनले भनेका छन्, ’फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाबारे भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदितै छ।’
उनले आफ्नो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशका रूपमा नबुझ्न पनि आग्रह गरेका छन्।
’एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन’, उनले भनेका छन्, ’हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।’
थापाले वक्तव्यमा दोहोयाएर निर्मल निवासको अवान्छित र अमर्यादित हस्तक्षेप भएको पनि उल्लेख गरेका छन् ।
उनले राजसंस्थालाई अभिभावकका रुपमा स्वीकारे पनि यो महाधिवेशनमा भएको हस्क्षेपले भ्रम टुटेको पनि बताएका छन्।
थापाले राजसंस्था फर्किएमा फेरि पनि लोकतान्त्रिक प्रणालीमा हस्तक्षेप हुन सक्ने बताएका छन् । थापाले राजसंस्थाबारे र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाबारे अब राप्रपाभित्र बहस शुरू हुने पनि बताएका छन् ।