धनगढी । २३ कात्तिकमा कैलालीको टीकापुरमा भएको लम्कीका भूपेन्द्र बडुवालको हत्या घटनामा २१ जना संलग्न रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको लम्की, चिसापानी, टीकापुर र छिमेकी जिल्ला बर्दियाका समेत गरी २१ जनामाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको जनाएको छ । तर प्रहरीले हालसम्म मुख्य अभियुक्त भनिएका र उनीहरुलाई संरक्षण दिने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले १२ जनालाई पक्राउ गर्न सफल भएपनि अन्य ९ जना अझै फरार रहेको सुनाए । पत्रकार सम्मेलनमा प्रहरीले कुनै पनि अभियुक्तलाई सार्वजनिक गरेन तर उनीहरुको विवरण भने सार्वजनिक गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत अनुसन्धानमा खटिएको भूपेन्द्र हत्याको घटनालाई प्रहरीले योजनाबद्ध भनेको छ र हत्या घटनामा नवीन रावल समूहको जम्काभेटमा भएको उल्लेख गरेको छ ।
कैलालीका एसपी विश्व अधिकारीका अनुसार टीकापुर नगरपालिका–१ का अशोक रावलको संरक्षणमा स्थानीय लोकजंग शाहीसमेतले युवाहरुको समूह बनाएर अपराधिक लाभका निमित्त परिचालन गर्दै आएका थिए ।
विशेष गरी लम्की, चिसापानी र टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ, वन पैदावारको ठेक्कापट्टामा आफ्नो वर्चश्व कायम गर्न युवाको समूह परिचालन गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
एसपी अधिकारीले उनीहरुविरुद्ध कैलाली र काठमाडौंमा यसअघि ज्यान मार्ने उद्योग शीर्षकमा ६ र हातहतियार खरखजना शीर्षकमा दुई वटा मुद्दा दर्ता भएको खुलेको जानकारी दिए ।
दुई समूहको द्वन्द्वका कारण मारिएका भूपेन्द्रविरुद्ध भने अपराधिक गतिविधिमा संलग्न भएको भन्दै हालसम्म कतै मुद्दा नपरेको पाइएको उनी बताउँछन् । तर साथीभाइका नाताले उनी पनि यी समूहसँग निकट भने थिए ।
यो प्रकरणमा प्रहरीले संगठित अपराधको जालो भत्काउने प्रयास गरेको देखिएपनि मुख्य अभियुक्त र संरक्षण दिनेहरुलाई भने अझै पक्राउ गर्न सकेको छैन । तर एसपी अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै फरार रहेका प्रतिवादीको खोजी भइरहेको र उनीहरुलाई उन्मुक्ति नदिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिवादीमध्येका मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका १५ जनालाई कैलाली प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जन्म कैद र सोही संहिताको दफा ४१ बमोजिम कैद सजाय र दफा १७७(१) बमोजिमको कसुर लगाउन माग गरेको छ ।
मृतकसँग नजिक रहेका भनिएका जयन्द्र शाह समेतका ४ जनालाई दफा १७७(२) बमोजिम जन्म कैद र दफा १७७(१) को कसुरमा सजाय गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको छ भने अन्य दुई जनालाई दफा ३६(३)(क) बमोजिम कसुर गरे वा सो सरह जन्म कैदको सजाय दफा ३६(१) र (२) को कसुर लगाउन राय दिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) अधिकारीले बताए ।