काठमाडौं । राजदूतको सुनुवाइमा समावेशिताको कुरालाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच सवालजवाफ भएको छ ।
संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको सोमबार भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद सुमनराज प्याकुरेल र सत्तापक्षीय प्रमुख दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालबीच सवालजवाफ भएको हो ।
सांसदहरुबीच नै सवालजवाफ भएपछि उजुरीकर्ताले एमालेलाई सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि मात्रै समावेशिता चाहिएको भनी प्रश्न गरेका थिए ।
बैठकमा एमाले प्याकुरेलले राजदूत नियुक्ति समावेशी नभएको भन्दै समितिको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा कांग्रेस सांसद भुसालले पहिले नै उठाउनुपर्ने विषय अन्तिम समयमा सुनुवाइमा उठाउनु उपयुक्त नहुने बताइन् ।
अमेरिका, बेलायत र भारतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । बैठकमा सांसद भुसालले उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् ।
उजुरीकर्ता उज्ज्वलकृष्ण श्रेष्ठले प्रतिपक्षीमा पुगेपछि एमालेलाई राजदूत नियुक्तिमा समावेशी चाहिएको भन्दै व्यंग्य गरेका थिए ।
समितिका सभापति लक्ष्मणलाल कर्णले पनि सोमबारको सुनुवाइलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले समावेशीबारे कुनै कानुन नबनेकाले समितिले सरकारलाई पटकपटक ध्यानाकर्षण गरेको जानकारी दिए ।
उनले सोमबारको सुनुवाइबारे निर्णय गर्दै समावेशिताका बारेमा फेरि गम्भीर रूपमा छलफल गर्न सकिने बताए । उनले त्यसबेलामा पनि यो विषय थाती राखेर निर्णय गरेको स्मरण गराउँदै धेरैपटक सरकारलाई निर्देशन गरेको र यो नौलो नभएको बताए ।
यस्तै, सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो ।