काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जनताको सुरक्षा गर्न आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकाले नेपालमा पनि आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यलाई ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् । घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडोभन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएकी हुन् । ‘खोपलाई छिटोभन्दा छिटो जनताकोमा पुर्याउने कुरा, लगाउने कुरा मन्त्रालयको योजनामा राखिसक्नुभएको छ । हाम्रो समितिको अपेक्षा के हो भने यो कुरा चाँडै कार्यान्वयन होस्,' घर्तीले भनिन्, 'ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ ।
किनकि थोरै हुन्छन् । त्यस्तो गरे सजिलो हुन्छ । यो व्यवस्था स्वास्थ्य मन्त्रायले गरोस् ।' हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउनुपर्ने घर्तीको भनाइ थियो । बाहिरबाट आएका मानिसहरूलाई नगरपालिका, गाउँपालिका र वडामा जतिबेला जान्छन् त्यतिबेला खोप लगाउने व्यवस्था गर्नुपर्ने उनले बताइन् । उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न अक्सिजन र भ्यान्टिलेटरको अवस्था बुझी आवश्यकताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरूलाई व्यवस्थित गर्न मन्त्रालयलाई निर्देशन दिइन् । 'हामीले आह्वान गरेको दिन कसैले थाहा पाउला, कसैले नपाऊलान् ।
त्यसैले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ र सजिलो हुन्छ,' घर्तीले भनिन्, 'ओमिक्रोन त्यति धेरै जटिल रहेनछ भन्ने कुरा हामीले बुझ्यौँ । ओमिक्रोनबाट बच्न र आममानिसमा भय हुन नदिन सतर्कता अपनाउनुपर्छ भन्ने कुराको चेतना दिनुपर्छ । यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्वतयारीका लागि मन्त्रालय लाग्नुस् ।' उनले नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट भएको पनि बताइन् । भारतबाट आउने सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआरजस्ता कुरामा मन्त्रालयले ध्यान दिनुपर्ने घर्तीको भनाइ छ ।