काठमाडौं । किशोर–किशोरीहरुको राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ ।
सातै प्रदेशका किशोर–किशोरीहरुका प्रतिनिधिहरु सम्मिलित भेलाले किशोर–किशोरीहरुको मुद्दाहरुमा छलफल गरी उनीहरुको सर्वाङ्गिण विकासका लागि गर्नुपर्ने मुद्दाहरु सम्बोधनका निम्ति सम्बन्धित निकायलाई दबाब दिएका छन् ।
भेलाले देशका करिब ६० लाख किशोर–किशोरीहरुको सम्मान, सशक्तिकरण, समावेशिता र स्वावलम्बलका बिषयमा सरकारी पक्षले ठोस निति बनाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
राजनीतिक, सामाजिक र आर्थिक सवलिकरणका लागि किशोर–किशोरीहरुको सहभागिता महत्वपूर्ण रहेकोले त्यसलाई व्यवहारिक रुपमै अभ्यासमा ल्याउन सहभागी सातै प्रदेशका अगुवा किशोर–किशोरीहरुले माग गरेका थिए ।
सिविन–नेपालको आयोजनामा भएको भेलामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाईले किशोर–किशोरीहरुका समस्या र उनको उत्थानका लागि मन्त्रालय लागि परेको बताए ।
राष्ट्रिय योजना आयोगका सुशासन तथा सामाजिक विकास समितिका प्रमुख डा. किरण रुपाखेतीले सरकारको नीतिमै किशोर–किशोरीहरुका आवयक्ताहरुलाई कार्यक्रम बनाएर सम्बोधन गर्न राष्ट्रिय योजना आयोग प्रतिबद्ध रहेको बताए ।
सिविन नेपालकी प्रमुख सुम्निमा तुलाधारले किशोर–किशोरीहरुका लागि आफूहरुले विभिन्न क्रियाकलापहरु गरिरहेको र उनीहरुको क्षमता विकासका लागि अझै लागिपर्ने बताइन् । उनले देशैभर सिविन बालगृह सञ्चालन गरिरहेको समेत बताइन् ।
किशोरीहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा ७ वटै प्रदेशका किशोर–किशोरीहरुले आफ्नो प्रदेशमा किशोर–किशोरीहरुको सवालमा भएका समस्याहरुको बारेमा बताएका थिए ।













