काठमाडौं । आइतबारदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न लागेको हो ।
बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरु तीन कम्प्लेक्सटमा छुट्याइएको छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आइतबार साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्दै छन् ।
रुखमा क्यामरा जडान गरेर मन्त्रीले उद्घाटन गर्ने छन् । बाघ गणनाका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ । बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागका डा. रामचन्द्र कँडेललगायतको टिम शनिबार नै चितवन आइपुगेको थियो ।
क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने कँडेलले बताएका छन् । नेपालमा चितवनलगायत बर्दिया, बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ ।
सन् २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ छन् । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा छन् ।
त्यसपपछि बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । नेपालमा सन् २०१३ मा १९८ बाघ भेटिएको थियो ।
बाघ गणना गर्न चितवन–पर्सा कम्प्लेक्समा मात्रै सुरुवाती चरणमा प्राविधिक र कर्मचारी गरी करिब सय जना खटिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
गणना गर्दा आवश्यकता अनुसार मोटरसाइकल, गाडी र हात्तीको प्रयोग हुने उनले बताए । बाघ गणनामा करिब तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
बाघ गणनाका लागि विभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्ने छन् । फागुन मसान्तसम्म देशभरको बाघ गणना सकेर आगामी १३ साउनमा विश्व बाघ दिवसको अवसर पारेर नतिजा सार्वजनिक गर्ने विभागको योजना छ ।