भक्तपुर । नेपाल सरकारको रु २० करोडको लागतमा सूर्यविनायक नगरपालिका–१ स्थित सिरुटार–बिरुवा सडक निर्माण कार्यको शिलान्यास भएको छ ।
बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले शिलान्यास गरेको ढलसहित ११ मिटर चौडाइ कालोपत्र सडकमा फुटपाथ, कुलो, सडकपेटी, हरियाली र उज्यालो सडक अभियानअन्तर्गत सडकबत्ती जडान सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो ।
सडक शिल्यान्यास गर्दै प्रदेश सांसद थापाले बालकोट र सिरुटारको सिमाना पुलबाट सिरुटार–बिरुवा सडकखण्ड पहिलो चरणमा निर्माणका लागि प्रदेशबाट रु १५ करोडको बजेट आएको बताए ।
उनले बिरुवाबाट तर्खगालसम्म सङ्घीय सरकारबाट पाँच करोड बजेट विनियोजन भएको र सडकमा ठेक्का आह्वान गर्दा आएको बिलोसहित यो सडकमा करिब रु २६ करोड बराबरको काम सम्पन्न हुने बताए ।
यसअघि सङ्घीय, प्रदेश सरकार तथा नगरपालिकाबाट समेत रु १२ करोडको लगानीमा सडक फरोकिलो पार्ने र सडकको दायाँबायाँ पर्खाल लगाउने काम सम्पन्न भएको जनाउँदै थापाले आगामी एक वर्षभित्रमा यो सडकको सम्पूर्ण निर्माण पूरा गरिने बताए । सिरुटारमा अधिकांश भित्री सडक फराकिलो पार्ने, कालोपत्र गर्ने र ढलान गर्ने काम सम्पन्न भएको तथा केही सम्पन्न गर्ने चरणमा रहेको उनले जानकारी दिए ।
थापाले सङ्घबाट आएको रु ४३ करोडको बजेटबाट बालकुमारीबाट बालकोट, दधिकोट, गुण्डु हुँदै रानीकोट काभ्रे सडक विस्तार भइरहेको जनाउँदै देशभरिमध्ये भक्तपुरमा धेरै बजेट ल्याएर विकासका पूर्वाधार निर्माण गरिएको बताए।
कार्यक्रममा नगर उपप्रमुख जुना बस्नेतले नगरपालिकाले दुई अस्पताल निर्माण गरेको, सबै वडाका स्वास्थ्यचौकीको स्तरोन्नति गरेको, १९ विद्यालय भवन निर्माण गरेको, १७ सामुदायिक भवन निर्माण गरेको, २६ पुल निर्माण गरेको, गाउँगाउँमा कालोपत्र सडक बनेको बताइन्।
कार्यक्रममा सूनपा–१ सिरुटारका वडाध्यक्ष सानुकाजी कायस्थले सिरुटारका सबै भित्री सडक पक्की गरिसकेको जनाउँदै अब मूल सडक पनि फराकिलो र कालोपत्र सम्पन्न हुन लागेको बताए।
गुणस्तरीय सडक निर्माणका लागि वडाले स्थानीय सबै राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी गरी १६ सदस्यीय अनुगमन समितिसमेत निर्माण गरी परिचालन गरेको छ ।