काठमाडौं । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् ।
उनलाई यौन हिंसाको उजुरी परेपछि गृह मन्त्रालयले निलम्वन गरेकाे हो । गृहका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले उनलाई बिहीबार निलम्बन गरिएको बताए । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।
उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतसँग अनुमति लिएर उनीविरुद्द पक्राउ पूर्जी जारी भएको हो । एसएसपी राणले जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदादेखि विर्तामोडकी लिम्बू थरकी विवाहित महिलालाई १५ वर्षदेखि डरधम्की दिएर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।
राणा जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र संघीय प्रहरी कार्यालय धरानको प्रमुख हुँदा समेत डरधम्की दिएर आफूलाई जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छन् ।
पीडित महिलाले राणाले आफूलाई डरधम्की दिएर इटहरीको एक होटलमा लगि जबरजस्ती गरेको उजुरीमा उल्लेख गरेकी छन् । सोहि उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनास्थलको मुचुल्का तयार गर्न प्रहरी परिचालन गरेको छ ।
मंसिर १७ गते गृहमन्त्रालयले राणामाथि छानबिन गर्न प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।
राणा नेपाल प्रहरीको ९८ औं टोलीका एसएसपी हुन् । २०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिर सुरू गरेका उनका अधिकांश ब्याची अहिले प्रहरी नायब महानिरीक्षक(डिआइजी)मा बढुवा भइसकेका छन् ।
एसएसपी राणा संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत थिए । यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध यौन हिंसाकाे उजुरी लिएर गृह पुगेकी थिइन् । राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।