काठमाडौं । चालू आर्थिक वर्षमा मल खरिदका लागि विनियोजित रकम अपुग हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य तीन गुणाले वृद्धि हुँदा विनियोजित रकम अपुग हुने भएको हो ।
सरकारले चालू आर्थिक वर्षमा मल खरिदका लागि १५ अर्ब रुपैयाँ छुट्याएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा मलको भाउ अकासिएपछि विनियोजित रकम धेरै नै अपुग हुने कृषि मन्त्रालयले जनाएको छ ।
त्यसैले मल अभाव हुन नदिन कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४२ करोड रुपैयाँ बजेट माग गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अन्तर्राष्ट्रिय बजारमै मलको भाउ उच्च हुँदा विनियोजित १५ अर्ब रुपैयाँको मल खरिद गर्दा अहिले करिब २ लाख मेट्रिक टन मात्र आउने जनाए ।
गहुँ बालीलाई धानको जस्तो हाहाकार नै नभए पनि अभाव नै रहेको कृषि सामग्री कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्की बताउँछन् । कृषि सामग्रीसँग मौज्दात डीएपी १५ हजार मेट्रिक टन र बाटोमा १० हजार मेट्रिक टन आउँदै गरेको भए पनि सो मलले गहुँ बालीलाई नपुग्ने कार्कीको भनाइ छ ।
विश्व बजारमै मलको हाहाकार हुँदा गहुँ, तोरी र आलुका लागि केही मात्रामा डीएपी मलको अभाव हुने देखिएको प्रवक्ता सञ्जेलको भनाइ छ । विश्व बजारमै मलको अभाव देखिएकाले चीनले सहज रूपमा बाहिर मल पठाउन दिएको छैन ।
भारतले पनि आफूलाई चाहिने भनेर बाहिर मल पठाउन दिएको छैन । भारतसँग जीटुजीबाट ल्याउने गरिएको मल दिन पनि पछिल्लो समय भारत सरकार इच्छुक देखिएको छैन ।
जीटुजीबाट मल ल्याउने कुरामा नेपाल–भारतको सचिवस्तरीय छलफल भएर सहमति भएको लामो समय भइसकेको छ । तर, भारतबाट कुनै सकारात्मक कुरा नआएको प्रवक्ता सञ्जेलले जानकारी दिए ।
भारतले जीटुजीमार्फत हरेक वर्ष १ लाख ५० हजार मेट्रिक टन मल दिने भनेर गत ३ सेक्टेम्बरमा दुई देशका सचिवस्तरीय बैठकमा सहमति भएको थियो ।
अनुदानको रासायनिक मल साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनीले आपूर्ति गर्दै आएका छन् ।
उनले साल्ट ट्रेडिङको २५ हजार मेट्रिक टन युरिया मल भने आइरहेको बताए ।
उनले गहुँलाई धेरै डीएपी मलको आवश्यकता हुने हुँदा गहुँ बालीलाई पुग्ने मल नभएको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गहुँ बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।
आवश्यताअनुसार किसानलाई वितरण गर्न सरकारसँग पर्याप्त रासायनिक मल छैन । गहुँ बालीलाई युरिया मलभन्दा डीएपी मलको प्रयोग धेरै हुन्छ ।
कम्पनीका सूचना अधिकारी कार्कीका अनुसार कम्पनीसँग मौज्दात डीएपी १५ हजार मेट्रिक टन छ । बाटोमा १० हजार मेट्रिक टन डीएपी आउँदै छ । युरिया मौज्दात १८ हजार मेट्रिक टन छ । पोटास ५ सय २२ मेट्रिक टन छ ।
गहुँ बालीमा युरिया मलको खासै प्रयोग हुँदैन । डीएपी मल पुग्दो छैन । डीएपी मल नहुँदा गहुँलाई मल अभाव नै हुने कार्कीको भनाइ छ ।
सरकारले अनुदानमा खरिद गर्न रासायनिक मलमा हरेक वर्ष बजेट बढाइरहेको छ ।