काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको बताइन्।
उनले नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्ने बताइन् । “विस्तारै सामान्य अवस्थातिर फर्किन लागेको हाम्रो जनजीवन फेरि कोरोनाभाइरसको त्रासमा रहनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता यसबाट बढेको छ”, उनले भनिन्, “जनताको जीवन रक्षा हाम्रो एकमात्र प्राथमिकता भएकाले नयाँ भेरिएन्टबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको छ ।”
राष्ट्रपति भण्डारीले पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखापरेको र अघिल्ला भेरिएन्टको तुलनामा यसको सङ्क्रमण दर पनि धेरै हुने भनिएको उल्लेख गर्दै नयाँ भेरिएन्टबाट बच्न दक्षिण अफ्रिका, नेदरल्यान्डलगायत कतिपय मुलुकमा नयाँ सुरक्षा मापदण्ड घोषणा गरिएको सन्दर्भ उल्लेख गरिन् । उनले कोरोना भाइरसको अर्को सम्भावित प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्वतयारीमा जोड दिन आग्रह गरिन् ।
सबै नागरिकलाई खोप
राष्ट्रपति भण्डारीले सकेसम्म छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आवश्यक रहेको बताइन् । उनले एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’समेत उपलब्ध गराउन आग्रह गरिन् । “खोप लगाउने कार्यलाई निरन्तरता दिँदै हामीले फेरि एक पटक नयाँ तयारीमा जोड दिनुपर्ने समय आएको छ”, उनले भनिन्, “कोरोना भाइरसको पछिल्लो अवस्थाका बारेमा अध्ययन गरी तीनै तहका सरकार, जनप्रतिनिधि र सामाजिक संस्थाको सक्रिय भूमिकाबाट मात्रै भाइरस विरुद्धको लडाइमा सफलता प्राप्त गर्न सकिन्छ ।”
राष्ट्रपति भण्डारीले कोभिड–१९ को प्रभावबाट उत्पन्न हुनसक्ने विषम परिस्थितिबाट मुलुक र जनतालाई सुरक्षित गर्न प्रदेश र स्थानीय तहअन्तर्गतका संरचनात्मक व्यवस्थालाई एकीकृत र जवाफदेही रूपमा परिचालन गर्न आग्रह गरिन् । “अक्सिजन र अत्यावश्यकीय औषधिमा हुन सक्ने अभाव र कालाबजारी नियन्त्रण गर्न औषधि व्यवस्था विभाग र सुरक्षा टोली परिचालन गर्नुहोस्”, उनले भनिन्, “अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न छोटै समय लाग्ने र लगानी पनि त्यति ठूलो नपर्ने भएकाले देशभरी विगत एक वर्षमा धेरै अक्सिजन प्लान्ट थपिएका छन् । तीनको अवस्था निरन्तर अवलोकन गरी मर्मतसम्भार गरेर अक्सिजनको व्यवस्था गर्नुपर्दछ ।”
पीसीआर परीक्षणलाई हरेक जिल्लासम्म पुर्याउन र अस्पतालमा बिरामीको हेरचाहका लागि थप स्वास्थ्य जनशक्तिको अभावलाई पूर्ति गर्न सेवा निवृत्त स्वास्थ्यकर्मीका साथै प्यारामेडिक्स परिचालन गर्न पनि राष्ट्रपति भण्डारीले आग्रह गरिन् । उनले कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवम् मुलुकको समग्र आर्थिक प्रणालीमा ठूलो क्षति पुगेको भन्दै यसक्रममा कोभिड–१९को महामारीसँग लड्न अग्रपङ्क्तिमा रहने डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सफाईकर्मीप्रति आभार व्यक्त गरिन् ।
मन्त्री खतिवडाले एक हजार ६०० खोप केन्द्रमा प्रतिदिन दुई लाख दरले खोप लगाउन थालेको बताए । उनले दुई करोड ६८ लाख मात्रा खोप लगाइसके समेतको राष्ट्रपति भण्डारीलाई जानकारी दिए । यो भनेको खोप लगाउन योग्यको २८ प्रतिशत हो ।