काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले गठबन्धन चुनावसम्म टिक्न नसक्ने बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै कट्टेलले एमाले दक्षिणपन्थी पूँजीवादी पार्टीका रुपमा देखिएको आरोप लगाएका छन् ।
पदीय भागबण्डा नमिलेर अलिकति न्यारनुर गरेपनि एमाले महाधिवेशनमा जित्ने र हार्ने दुई यथास्थितिवादी नै रहेको उनले बताएका छन् । उनीहरुको बीचमा कुनै पनि वैचारिक भिन्नता नरहेको उनको भनाई छ ।
चरित्र गुमाइ सकेको पूँजीवादी पार्टीलाई कम्युनिष्ट पार्टी भन्न नमिल्ने पनि उनले बताएका छन् । अहिले एमालेजनले अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्न तर्फ लागेको उनको भनाई छ । अध्यक्ष कट्टेलले यसलाई नेपाल कम्युनिष्ट आन्दोलनमा विगतदेखि नै लागेको रोगको संज्ञा दिएका छन् । उनले अहिलेका एमालेजनले पनि त्यही काम गरेको बताए । एमाले अध्यक्ष यति बेलियो हुनुको पछाडी माधव नेपाललगायतका नेताहरुको हात रहेको उनले बताए ।
‘माधव नेपालहरुले नेकपा बनाइ सकेपछि प्रचण्डहरुसँग मिलेर एमाले भन्ने पार्टीलाई प्रचण्डको हातमा सुम्पिने जो प्रयत्न गरे, त्यसले गर्दा धेरै कार्यकर्ताहरुको मन ओलीतिर गयो,’ उनले भने, ‘एमाले पार्टीको रक्षा गर्ने, एमाले नेतृत्वको रक्षा गर्ने मान्छे ओली हो भन्ने बढे पछिल्लो कालखण्डमा ।’
अध्यक्ष कट्टेलले एमाले नेता भीम रावल र घनश्याम भुषालले पत्याउने काम नै नगरेको बताएका छन् । उनले भने, ‘उहाँहरुले पत्याउने कुनै काम नै गर्नु भएन अनि के पत्याओस् त ? पत्याउने काम गर्नका लागि अचेल चलनचल्तीमा हाम्रो केपी ओली भन्ने गरिएको छ नि, त्यो पक्षसँग हाम्रो वैचारिक अनि सैद्धान्तिक भिन्नता के हो त्यो कुरा कार्यकर्तालाई बुझाउन सकिएन ।’
एमालेका अध्यक्ष केपी ओली र नेकपा (एस)का अध्यक्ष माधव नेपालको बीचमा कुनै पनि तात्विक, वैचारिक र व्यावहारिक भिन्नता नरहेको उनले बताएका छन् । एमालेभित्र बसेर आफ्नो नेतृत्व र राजनीतिक भविष्य छैन भन्ने सुनिश्चित देखेपछि माधव नेपाल निस्किएर गएको उनले बताएका छन् । पार्टीभित्र विचार र दृष्टिकोण नमिलेर नभइ ओली विरुद्ध आफू असफल भएको सुनिश्चित भएपछि नेपाल बाहिरिएको उनको बुझाइ छ । उनले संसदीय व्यवस्थाको विरुद्धमा नै ठूलो जनमत तयारी भइरहेको भएपनि एद्यपी त्यसले परिणाम ल्याउन नसकेको अध्यक्ष कट्टेलले बताएका छन् ।