काठमाडौं ।आगामी आइतबारदेखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन गरिने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ ।
निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा विभाजन गरी बाघ गणना अघि बढाइने जानकारी दिए ।
पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना गरी सक्ने जानकारी दिए । निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्यापिङ गरिने बताए ।
बाघ गणनाको समयमा मङ्सिर १९ देखि २० गतेसम्म मध्यवर्ती वन क्षेत्र र क्यामेरा ट्यापिङमा राखिएको राष्ट्रिय वनमा घाँस, दाउरा काट्न लागि नजानसमेत आचार्यले आग्रह गरेका छन् । बाघ गणनाका क्रममा प्रत्येक स्थानमा एक जोडी क्यामेरा राखिँदैछ ।
एकजोडी क्यामेराको दूरी आठदेखि १६ मिटरसम्म रहने तर दुवै क्यामेराले एउटै बाघको एकैपटक फोटो खिच्ने आचार्यले बताए । जमिनबाट करिब ४५ देखि ६० सेन्टीमिटरको उचाइमा क्यामेरा राखिँदैछ ।
बाघ हिँड्ने बाटोलाई केन्द्रमा राख्दै गणनाका लागि चारदेखि आठ मिटरको दूरीमा क्यामेरा राखिनेछ । यसपटक बाघको मात्रै गणना हुने भएकाले गणना सकिएर नजिता प्रकाशन भएपछि पुनः अन्य जनावरको गणना गरिने आचार्यले बताए ।
बाघ गणनाका लागि प्रयोग भएका क्यामेरा चोरी हुने तथा नष्ट हुने डर रहेको निकुञ्जले जनाएको छ । यसअघिका गणनामा केही क्यामेरा चोरी भएका तथा केही हात्ती र बाघले नष्ट गरेको पाइएको आचार्यले बताए ।