अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैंकहरूलाई व्यावसायिक घराना, व्यवसाय तथा स्वामित्व मिल्ने बैंकसँग एकआपसमा मर्जरमा जान सुझाव दिएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मर्जरमा जाने बैंकहरूलाई प्रोत्साहन गरिने बताए । उनले भने, ‘वित्तीय स्थायित्व तथा सबलीकरणका लागि समेत नेपालमा बलियो बैंक आवश्यक छ । त्यसैले, सबल र समृद्ध बैंकिङ क्षेत्रका लागि पनि बैंक तथा वित्त कम्पनीहरू मर्जरमा जान आवश्यक छ ।’
विकास बैंक र वित्त कम्पनीको तुलनामा वाणिज्य बैंकको संख्या बढी भएको बताउँदै उनले भने, ‘सरकारले मर्जर नीति ल्याएपछि अहिले बैंक तथा वित्त कम्पनीको संख्या ७३ मा झरेको छ । तर, त्यसमा वाणिज्य बैंक मात्र २७ ओटा छन् । त्यसैले अब व्यावसायिक घराना मिल्ने र एकै प्रकृतिका कारोबार गर्ने बैंकहरू एकआपसमा मर्ज हुनैपर्छ ।’ बैंकहरू अब संख्यात्मकभन्दा पनि गुणात्मक सेवा विस्तारमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
अर्थमन्त्रीले जोखिममा रहेका व्यवसायीलाई निगरानीमा राख्न राष्ट्र बैंकलाई निर्देशन पनि दिए । ‘राष्ट्र बैंकले बैंकहरूको जोखिमसँगै व्यवसायको जोखिमलाई पनि उत्तिकै ध्यान दिन जरुरी छ,’ उनले भने, ‘बैंक र व्यवसायीको लगानी सुरक्षित हुने वातावरण नभए दुवै क्षेत्र असुरक्षित हुन्छ । त्यसैले दुवै क्षेत्र सुरक्षित हुने वातावरण बनाउन आवश्यक छ ।’ व्यवसायीको व्यवसाय धरापमा हुँदा बैंक एक्लै सुरक्षित हुन नसक्ने उनको भनाइ छ ।
खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको आईपीओ आउने संकेत गरे । राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंकको हो । तर, सरकारी बैंक भए पनि राष्ट्रिय वाणिज्यलाई अन्य बैंक तथा वित्तीय संस्थालाई जस्तै सम्बद्ध ऐन तथा कानून लाग्ने उनको भनाइ छ । ‘ऐनअनुसार सबै बैंक तथा वित्तीय संस्थालाई समान व्यवहार गर्नुपर्छ,’ उनले भने, ‘पूँजीको हिसाबमा राष्ट्रिय वाणिज्य बैंकलाई आईपीओ निष्कासन गर्नुपर्ने अवस्था छैन । तर, कानूनतः वाणिज्य बैंक त्यो नीतिमा आउनैपर्छ ।’
उनले राष्ट्रिय वाणिज्य बैंकको शेयर स्वामित्व कस्तो बनाउने विषयमा छलफल भइरहेको जानकारी पनि दिए । उनले भने, ‘पूँजीको हिसाबले यो बैंक आईपीओमा जानुपर्ने नदेखिए पनि कानून सबैमा लागू हुन्छ । यसर्थ हामी त्यस विषयमा गृहकार्य गर्दै छौं ।’
खतिवडाले कर्जा र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात ८० प्रतिशत नाघ्न थालेकोप्रति चिन्ता व्यक्त गरे । ‘अहिले कर्जा निक्षेप अनुपात, निष्क्रिय कर्जा, पूँजी कोष, जोखिम भारित सम्पत्ति अनुपातलगायत सबै सूचकको स्थिति राम्रोे छ । तर, कर्जा र जीडीपीको अनुपात ८० प्रतिशत नाघ्न थाल्यो,’ उनले भने, ‘कर्जाको माग छिटो बढेको हो कि जीडीपी नै सोचेअनुरूप बढेको छैन । अथवा, जीडीपीको गणना नै राम्रोसँग भएको छैन ।’ यद्यपि, अहिले जीडीपी बेस परिवर्तन गर्न लागेकाले तथ्यांकमा सुधार आउन सक्ने उनको टिप्पणी छ ।
उनले बैंकहरूलाई विदेशी विनिमय बजार थप गतिशील बनाउन निर्देशन दिए । ‘तपाईंहरू विदेशी विनियमय बजारको खेलाडीको हो । यस विषयमा तपार्इंहरूलाई जस्तो अधिकार अरूलाई छैन,’ उनले भने, ‘तसर्थ, विदेशी ऋण ल्याएर पूँजी परिचालन गर्ने, विदेशी विनिमयमा जोखिम व्यवस्थापन गर्ने जस्ता मुख्य काममा तपाईंहरू लाग्नुहोस् ।’ बैंकहरूले अनलाइन सेवा दिन सूचना प्रविधिमा तथ्यांक सुरक्षित हुनेगरी राख्ने, ≈याक हुन नदिन प्रविधिमा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको भएकाले अर्थतन्त्रमा यसको सबल भूमिका हुनुपर्ने बताए । साथै, बैंकलाई अझै सबल, सक्षम र नीतिगत रूपमा स्पष्ट बनाएर अगाडि बढाउनुपर्ने उनको भनाइ छ । राष्ट्र बैैंक फिक्स ब्याजदर र प्mलोटिङ ब्याजदर ल्याउने तयारीमा रहेको बताउँदै उनले भने, ‘बैंकहरूको ब्याजदरमा स्थिरता कायम गर्न आगामी असार मसान्तसम्म स्प्रेड दरलाई ४ दशमलव ४ प्रतिशतको सीमामा राख्न आग्रह गरेका छौं । यो सीमा नाघ्नु भएन ।’
यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।