काठमाडौं । नेकपा (माले) का महासचिव सिपी मैनालीले एमाले बिचार र सिद्धान्त बिनाको पार्टी भएको बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै मैनालीले एमालेभित्र अध्यक्ष केपी शर्मा ओली नेता भन्दा पनि ‘बा’ को रुपमा देखिएको बताएका छन् ।
उनले एमालेले जनताको अगाडि आफ्नो शक्ति प्रदर्शन गर्ने फजुल प्रयत्न गरेको बताएका छन् । साथै एमालेले पार्टीको प्रजातन्त्रिकरणको धज्जी उठाएको पनि उनले आरोप लगाएका छन् । ‘एमालेलाई प्रजातन्त्रिकरण गर्ने भन्नु हुन्छ । तर त्यो प्रजातन्त्रिरण गर्ने भनेपनि त्यसको नेतृत्व चयनमा हुनुपर्ने न्यूनतम प्रजातन्त्रिक अभ्यास पनि अवरुद्ध गरिएको छ । महाधिवेशनमा अध्यक्ष मण्डल बनाइन्छ, प्राय पुरानो कमिटी विघटन भएपछि । अध्यक्ष मण्डलमा विभिन्न किसिमका व्यक्तित्वहरुलाई राखेर पार्टीको पूरा नेतृत्व गर्ने बढी अध्यक्ष मण्डल हुन्छ,’ उनले भने, ‘त्यो अध्यक्ष मण्डलले व्यापक परामर्श गरेर एउटा केही प्रस्ताव ल्याउनु र त्यसमा छलफल गरेर समर्थन र विरोधबाट केही परिवर्तन गरि त्यसलाई अनुमोदन गर्नु एउटा कुरा हो । तर, त्यहाँ त्यो पनि भएन । त्यो केही नगरि सबै अधिकार ओलीलाई दिइयो । त्यसकारण उहाँहरुले भनेको पार्टीको प्रजातन्त्रिकरणको धज्जी उडाइयो ।’
महासचिव मैनालीले एमालेको महाधिवेशनलाई ‘गुदि बिनाको गौशाला’को संज्ञा दिएका छन् । एमालेले कहाँ जाने के गर्ने, मेरो भूमिका के भन्ने थाहासम्म नभएका जनतालाई गाडीमा लादेर ल्याएर गुदिबिनाको शक्ति प्रदर्शन गरेको बताए । यसले कम्युनिस्ट आन्दोलनमा एक किसिमको नकारात्मक उदाहरण दिएको बताए । उनले एमाले पूँजीवादको बाटोमा हिँडिरहेको पनि बताएका छन् । एमालेभित्र कम्युनिस्ट आचरण, विचार र सिद्धान्त नै नरहेको बताउँदै मैनालीले एमाले नामको मात्रै कम्युनिस्ट पार्टी रहेको बताएका छन् ।
उनले भने, ‘त्यो नाममा मात्रै कम्युनिस्ट पार्टी हो । देशमा कम्युनिस्टको ठूलो आकर्षण रहेको छ । त्यो नाम छोड्न उनिहरुले नचाहेको मात्रै हो । तर, त्यो नाम मात्रै बोक्नु पर्ने जुन आचरण हो, त्योबाट उनिहरु कोशौ टाढा गइसकेका छन् । त्यसैलाई त्यसलाई नामधारी कम्युनिस्ट भन्छौं । सिद्धान्त पूँजीवादी छ । आचरण पूँजीवादी छ ।’
उनले पूँजीवादीको शक्तिको रुपमा केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो वर्चश्व कायम गर्न, आफ्नो एकाधिकार कायम गर्न, एकलौटी नेतृत्व कायम गर्न बडो चतुर्याइँका साथ कैयौं कुराहरु गरेको आरोप लगाए । साथै महासचिव मैनालीले सत्तामा रहँदा ओलीले गरेको कुआर्जन अहिले महाधिवेशनमा खर्च गर्न लागेको पनि उनले आरोप लगाएका छन् ।