काठमाडौं – राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश- २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ। प्रदेश-२ मा नेकपा र राजपाले तालमेल गरेका थिए।
मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय सभामा प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, वागमती प्रदेशबाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना छानिएका हुन् ।
राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निल खाएको छ । कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसले यसअघि राष्ट्रियसभामा पाएको ७ वटै सिट गुमाएको हो ।
प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी भए । प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान विजयी भएका छन् ।
प्रदेश २ मा नेकपाले राजपासँग तालमेल गरेको थियो । जसमध्ये महिला र दलित नेकपाले लिएको थियो भने अल्पसंख्यक र अन्यतर्फको उम्मेदवार राजपाले उठाएको थियो । प्रदेश २ मा गठबन्धन तर्फका राजपाका उम्मेदवार शेखर प्रसाद सिंह र मृगेन्द्रकुमार सिंह विजयी भए ।
यस्तै प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाल विजयी भए ।
गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिला तर्फ भगवती न्यौपाने विजयी भए । प्रदेश नम्बर ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएका छन् ।
प्रदेश ६ मा महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मा विजयी भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्ट र अन्यबाट तारामान स्वाँर विजयी भएका छन् ।
बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९ दशमलब १९ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको निर्बाचन आयोगले जनाएको छ ।