काठमाडौं । जाजरकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका ५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका १० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादवको सनाखत भएको हो ।
नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको थियो । शनिबार राती नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
उनीहरुलाई हेलिकप्टर मगाएर नेपालगञ्ज पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुर्घटनामा परेर घाइते भएकाहरुमध्ये नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्ब प्रसाद पुन रहेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार रहेका छन् भने रुकुमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही छन् ।
जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, कोहलपुरका शेरबहादुर खत्री, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, सप्तरीका हिरनजित यादव उक्त दुर्घटनामा घाइते भएका छन् ।
दुर्घटनामा घाइतेहरु रेम्बो पुन र आस्या वली ठेगाना नखुलेको प्रहरीले जनाएको छ । अरु चार जनाको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।