काठमाडौं । आन्तरिक राजस्व कार्यालयले चार जिल्लाका चार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताहअन्तर्गत धनुषाका क्षीरेश्वर डिष्ट्रीलरी, महोत्तरीको अल्का वाइर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरिएको हो ।
आन्तरिक राजस्व विभागले निर्धारण गरेको मापदण्डअनुसार राजस्वमा योगदान पु¥याउने, समयमा सही बितरण बुझाउने, बक्यौता बेरुजु नराख्ने र कुनै प्रकारको दण्ड जरिवाना नतिरेकामध्येबाट उत्कृष्ट करदाता छनोट गर्ने गरिन्छ ।
यस्तै उत्कृष्ट कार्य गरेबापत करदाता सेवा कार्यालय मङ्लगवाका कार्यरत जयकिशोर साह, करदाता सेवा कार्यालय बर्दिबासका कार्यरत विजय साह र आन्तरिक राजस्व कार्यालयका त राकेशकुमार मिश्रलाई पुरस्कृत गरेको जनाइएको छ ।
यसैबीच, कार्यालयले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही सुरु गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष ०७७÷०७८ मा कर नबुझाउने ५० करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको कार्यालयले जनाएको छ । उक्त कार्यालयले चालु आव ०७८/०७९ को चार महिनामा रु एक अर्ब ७३ लाख २८ हजार राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यभन्दा २०८ प्रतिशत बढी हो । सो कार्यालयको यस अबधिमा रु ८३ करोड १८ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । चालु आव ०७८/०७९ मा रु तीन अर्ब ८९ करोड ७२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा र चार महिनामै लक्ष्यको ५५ प्रतिशत राजस्व सङ्कलन भइसकेको प्रमुख यादवले बताए ।
आयकरतर्फ ३१ हजार ९००, व्यक्तिगततर्फ ५७ हजार ३३७६ र अन्तशुल्कतर्फ एक हजार ३४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले जनाएको छ ।