काठमाडौं । प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ र प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने निर्णय गरेको हो ।
नियमावली खारेज गरेसँगै यज्ञ शर्मा कार्यकारी निर्देशक रहेको सञ्चार प्रतिष्ठान र फडिन्द्र अधिकारी नेतृत्वको पर्यटन विकास बोर्ड खारेज भएको छ । एमालेका तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले सञ्चार प्रतिष्ठान र भीमप्रसाद आचार्य नेतृत्वको सरकारले पर्यटन विकास बोर्ड गठन गरेका थिए ।
बैठकले प्रतिष्ठानको चलअचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ । प्रदेश सरकारले प्रतिष्ठान र पर्यटन बोर्ड खारेज गरे पनि कृष्ण बस्नेत सदस्य सचिव रहेको प्रदेश खेलकुद विकास बोर्ड खारेज गर्न सकेको छैन ।
प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले नवगठित प्रदेश सरकारले हटाउने निर्णय गरे कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन् । भीमप्रसाद आचार्य नेतृत्वको तत्कालीन सरकारले सामाजिक विकासमन्त्री अध्यक्ष रहने गरी असोज २४ मा बोर्ड गठन गरेको थियो ।
बोर्डले हालसम्ममा बैठक सञ्चालन कार्यविधि, प्रदेश १ स्थित १४ वटै जिल्ला खेलकुद विकास समिति गठन, संघीय सरकारबाट प्राप्त १ करोड ५ लाख बजेट १४ वटै जिल्लास्थित २६ वटा योजनामा विनियोजन गरेको सदस्य सचिव बस्नेतले बताए ।
उनले पाँच वर्षभित्र प्रदेशस्तरीय स्पोर्ट्स एकेडेमी सञ्चालनमा ल्याउने, खेल मैदानको स्तरोन्नति गर्ने, विद्यालयदेखि विश्वविद्यालयसम्म खेल प्रशिक्षक नियुक्त गर्नेलगायतका योजना सार्वजनिक गरे । बृहत् खेलकुद महोत्सव र प्रदेशस्तरीय महिला खेलकुद महोत्सव २०७८ आयोजना गर्ने उनले बताए ।
यता, मुख्यमन्त्री राई नेतृत्वको सरकारले तत्कालीन आचार्य नेतृत्वको सरकारले गरेको नियुक्ति पुनरावलोकन गर्ने निर्णय गरेको छ । नयाँ सरकार गठन भएदेखि बोर्डको हालसम्म बैठक बस्न सकेको छैन ।