काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा कम्युनिष्ट पार्टी र अन्य पार्टी विभाजित भइरहेको समयमा कांग्रेसलाई एकतावद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको उद्घाटनमा शुक्रबार उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाएको बताए ।
सहमहामन्त्री डा महतले पार्टीको १४औं महाधिवेशन अत्यन्त उत्साहजनकरूपमा भइरहेको बताउँदै पार्टीको क्रियाशील सदस्यता सङ्ख्या पनि दोब्बर भएको उल्लेख गरे । उनले यसपटक पार्टीको विधान पनि नेपालको संविधानसँग तादात्म्य हुने गरी बनाइएकाले पार्टीका तल्लो तहदेखि नै अझ बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको बताए ।
उनले महाधिवेशनका क्रममा नेता कार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिको रूपमा ब्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्तामात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले अत्यन्त उत्सकुतापूर्वक सकारात्मक रूपमा हेरिरहेको जानकारी दिए ।
उनले महाधिवेशनको क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई स्वभाविकरुपमा लिनुपर्ने बताए । सहमहामन्त्री डा महतले कांग्रेसले क्रान्ति गर्ने, आन्दोलन गर्ने, संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र संविधानको परिधिभित्र रहेर देशको भौतिक पूर्वाधार तथा आर्थिक–सामाजिक विकासमा ऐतिहासिक काम गरे पनि त्यसलाई प्रचार गर्न नसकेको धारणा व्यक्त गरे ।