काठमाडौं । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले माधव नेपाल भगौंडा भएकाले उनको पार्टीलाई एमालेले राजनीतिक रुपमा कुनै मान्यता नदिने बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधाकुरामा बोल्दै नेता पण्डितले उक्त कुरा बताएका हुन् ।
उक्त पार्टी विरुद्ध सर्वोच्च अदालतमा मुद्धा रहेको र प्रतिनिधिसभामा पनि संविधान अनुसार र कानुनी प्रक्रियाअनुसार सभामुखले कारबाही नगरेको हुँदा देखाउनको निम्ति केही समयको निम्ति नक्कली पार्टी बनाएर बसेको उनले आरोप लगाएका छन् ।
जुन पार्टीलाई राजनीतिक पार्टीकै रुपमा मान्यता दिइएको छैन् त्यसलाई निम्तो दिएर आफूहरुले कसैको पार्टी बनाइ नदिने उनले बताए । उनले भने, ‘हामीले हाम्रो पार्टी बनाउने हो । हामीले हाम्रा सन्देश दिने हो । भगौडाहरुलाई भागेर कहाँ पुग्ने हो फर्केर आउनुस्, आफ्नो पार्टीमा भनेका छौं । त्यसकारण हामीले बोलाएका छैनौं । अब डराएर अनि एमालेको जनसमर्थन र एमालेको तयारी देखेर डराएर नआएको हुन सक्छ । तर, हामी स्वागत गर्छौ ।’
नेता पण्डितले चितवन प्रचण्डको बिर्ता नभएको पनि बताएका छन् ।
‘प्रचण्ड कम्रेडले रोइ, बिलौना गर्न जरुरी छैन । किनभने अध्यक्ष केपी शर्मा ओली अब प्रचण्डलाई महाधिवेशन गर्न मन छ भने झापामा स्वागत छ भनिसकेपछि चितवन के उहाँको ठेकेदारी र ठेक्का परेको ठाउँ हो ?,’ उनले भने, ‘के चितवनमा एमाले छैन ? के चितवनमा अन्य राजनीतिक पार्टी छैन ? के चितवन भनेको बेग्दै देश हो ? त्यसकारण उहाँको रोइ बिलौना गर्नु मसान घाटमा रोइ कराइ गरेको जस्तो स्थिति देखाउनु उहाँको कायरता हो । र, उहाँ सम्पूर्ण हिम्मत सकिसकेको एउटा सन्देश पनि हो ।’
नेकपा एमाले अहिले पनि नेपालको राजनीतिको केन्द्रविन्दूमा रहेको र सबैभन्दा बढी जनसमर्थन भएको सबैभन्दा ठूलो पार्टी भएको पनि उनले बताएका छन् । साथै एमाले सबै भन्दा बढी लोकतान्तिक विधि र प्रक्रियाबाट अगाडि बढेको पार्टी रहेको पनि बताए । उनले केही नेताहरु भागेपनि एमाले कमजोर पार्टी नभएको बताए । गठबन्धन बनाएर एमालेलाई समाप्त गर्न खोजेपनि सम्पूर्ण जनताको साथ समर्थन लिएर एमाले देश, जनता र समृद्ध नेपाल सुखी नेपालीको भविष्य निर्माण गर्न दृढ भएर लागि परेको उनले बताए । नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनप्रदर्शन र जनसमर्थनका साथ एमाले महाधिवेशन गरिरहेको उनले बताए । साथै उनले लामो समयदेखि कोरोना संक्रमणका कारण पर्यटन व्यवसायी धरासयी बनेको अवस्थामा नेपाल अब पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन एमालेको महाधिवेशन चितवनमा गर्न लागिएको उनले बताएका छन् ।