काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा शुक्रबार (आज)देखि सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ ।
महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम वनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाएको छ भने ११ गते वेलुकी ६ वजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
मंसिर १२ गते मतदान प्रक्रिया हुने छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।
महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् ।
महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।
एमाले उद्घाटन सत्रमा ५ लाख जनाको सहभागिता हुने एमालेको दाबी छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उद्घाटनअघि नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कनेछ ।
चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ ।
नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् । चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ ।
उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भने भिडियो सन्देश आएको छ ।