काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
दरबारमार्गस्थित एक होटलमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गरेका हुन् । अब महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।
उम्मेदवारी घोषणाका लागि पत्रकार सम्मेलनमा उपस्थित भएका नेता लिङ्देनले आफू जित्नकै लागि अध्यक्षको उम्मेदवार बनेको बताए । राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको लिङ्देनले बताए ।
नेपालगञ्जमा मेयरसमेत रहेका राप्रपा नेता धवलशमशेर जबराको साथ पाएर लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि जबरा पनि अध्यक्षमा लड्ने चर्चा थियो । तर, उनले लिङदेनलाई साथ दिने भएपछि अब कमल थापालाई राप्रपाको अध्यक्षमा निरन्तरता भारी पर्ने देखिएको छ ।
तीनजना अध्यक्ष रहेको राप्रपामा अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले कमल थापालाई साथ दिन्छन् या लिङदेनलाई भन्ने खुलिसकेको छैन ।
तर, अधिकांश युवा कार्यकर्ताको साथ झापाका सांसदसमेत रहेका लिङदेनलाई रहने दाबी युवा नेता रविन चाम्लिङको छ । राप्रपाको केन्द्रीय सदस्य रहेकी नायिका रेखा थापाले पनि लिङदेनलाई नै साथ दिने भएकी छिन् । राप्रपाको महाधिवेशन मंसिर १५,१६ र १७ गते काठमाडौंमा हुँदैछ ।