महाधिवेशनमा दुईवटा कुरा हुन्छ । एउटा दस्तावेज पास गर्ने, नीति निर्माण गर्ने र अर्को नेतृत्व चयन गर्ने । हामीले दस्तावेज पास गर्ने कुरा विधान महाधिवेशन असोज १५ र १७ गते सम्पन्न गरिसकेका छौं । र, अहिलेको महाधिवेशन भनेको नेतृत्व चयन गर्ने महाधिवेशन हो । यो महाधिवेशनको तयारीको सन्दर्भमा मुलुकभरिबाट २२ सय ९७ जना प्रतिनिधि आज बेलुकीसम्म चितवनमा आइपुग्छन् ।
यो महाधिवेशनको दुईवटा कार्यभार छ, एउटा जनपरिचालन र अर्को नेतृत्व निर्माण । जनपरिचालनको सन्दर्भमा हामीले ५ लाख जनतालाई चितवनको नारायणघाटमा उतार्ने तयारी गरेका छौं । यो क्रममा चितवनलाई सिंगार्ने सन्दर्भमा हामीले विभिन्न स्थानमा ४६ वटा गेट बनाएका छौं । नारायणी नदिको किनारमा एउटा भव्य मञ्च बनाइँदैछ, जहाँ पाँच लाख जनता अट्ने गरी व्यवस्थापन गरिएको छ । यसका साथै सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगबाट परिचालन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको छ । ट्राफिक व्यवस्थालाई व्यवस्थित गर्न समन्वय भइरहेको छ । नेपालमा भएका ६ हजार बसहरु मध्य ४ हजार ठूला बस र साना भेहिकलका सबै साधनहरु गरेर कम्तीमा पाँच लाख मानिस नारायणघाटमा आउन सक्ने गरी हामीले तयारी गरेका छौं । त्यसमा पनि हामीले कुन जिल्लाले कति व्यवस्थापन गर्ने भनेर विभाजन गरेका छौं । वाग्मती प्रदेशले अढाइदेखि ३ लाख जनता उपस्थित गराउने गरि वाग्मती प्रदेश परिचालन भएको छ । त्यसैगरी २ नं. क्षेत्रमा एक लाखभन्दा बढी जनता आउने गरि परिचालन गरिएको छ । लुम्बिनीमा ७५ हजार, गण्डकीबाट ५० हजार त्यसैगरी अन्य बसै ठाउँबाट प्रतिनिधि गरि नेकपा एमालेले ५ लाख जनता उपस्थित गराउने तयारी गरेको छ । र, हामीले मञ्चको व्यवस्थापनको हिसाबले ४ सय जना स्वयमसेवक परिचालन गर्दैछौं । आमसभालाई व्यवस्थापन गर्न ५ हजार, बन्दसत्रका लागि ४ सय स्वयमसेवक परिचालन गर्ने तयारी गरेका छौं । तयारीको पाटोमा कुनै पनि कसर नराखेर हामीले महाधिवेशनलाई व्यवस्थित गर्ने प्रयन्त गरिराखेका छौं ।
मान्छेमा विचलन आएपछि र कम्युनिस्ट आन्दोलनलाई फुटाउन साथ सहयोगी भएपछि अर्को पार्टी निर्माण गरेर छुट्टै गइसकेपछि त्यस्ता मान्छेले के आरोप लगाउँछन्, के आरोप लगाउँदैनन् त्योतिर हाम्रो ध्यान छैन् । नेकपा एमालेले यस पटकको महाधिवेशन पूर्णरुपमा सदस्यमा आधारित भएर र सदस्यलाई सहयोगका लागि अपिल गरेर यो महाधिवेशन गरिरहेको छ । र, हामीले १ सय रुपैयाँ अभियान संचालन गर्यौ । यति मात्रै होइन, पार्टी कार्यकर्ताले कम्तीमा १ सय रुपैयाँदेखि एक लाखसम्म आ–आफ्नो ठाउँबाट सहयोग गर्नुभएको छ । यसका साथै यो महाधिवेशन सम्पन्न गर्नका लागि हामीले सदस्यता शूल्क ८ लाख ५५ हजार सदस्यबाट १ सय ४३ रुपैयाँ हामीले जम्मा गरेका छौं । योबाट ९÷१० करोड रुपैयाँ उठेको छ । त्यसकारण हाम्रो पार्टीको यत्ति महाधिवेशन गर्नको लागि कसैसँग चन्दा माग्नु पनि पर्दैन । भ्रष्टाचार हामीले गरेका पनि छैनौं । र, गर्दा पनि गर्दैनौं । त्यस्तोमा भ्रष्टाचारको पैसा प्रयोग गर्ने कुरै भएन । यो जुन भ्रष्टाचार गरेको आरोप लगाइएको छ, यो पार्टीको कल्चर नभएका, भ्रष्टाचार र कमिशनको भरमा महाधिवेशन गर्नेहरुले बर्रबराउने कुरा मात्रै हो । अन्यथा हामीले सिस्टमबाट आफ्नो खुट्टामा आफैं उभिएर पार्टीका कार्यकर्ताको सहयोग र समर्थनमा यो महाधिवेशन गर्न लागि रहेका छौं ।
(एमाले वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलसँग क्यापिटल एफएमको नियमित कार्यक्रम सिधा कुरामा गरिएको कुराकानीमा आधारित)