काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । महाधिवेशनको तयारीका लागि अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ ।
बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घान हुने र १७ सय प्रतिनिधिसहित दुई हजार जना सहभागी हुनेछन् ।
अधिवेशन सम्पन्न गर्न आवासलगायत सबै व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरड जिल्ला समितिको रहने कोइरालाले बताए ।
अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरडका सभापति डिगबहादुर लिम्बू संयोजक र भीम पराजुली सह–संयोजकका साथै केन्द्रीय सदस्यहरू अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ । कोइराला संयोजक रहेको प्रचार समितिमा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला वल्लभ घिमिरे सदस्य सचिव छन् ।
व्यवस्थापनको जिम्मा पाएका मोरङ कांग्रेसका सभापति लिम्बूले अधिवेशन सम्पन्न गर्न कम्तीमा रु. एक करोड खर्च हुने अनुमान गरिएको बताए ।
नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दारले ७ सयजना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरूका साथै भ्रातृ संस्था र सुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता छन् ।