काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टीका नेता ओमप्रकाश पुनले कम्युनिष्टहरुले लुट मच्चाउँदा जनतामा निराशा छाएको बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम ‘क्यापिटल फ्रन्टलाइन’सँग कुरा गर्दै नेता पुनले संसदीय व्यवस्थाका कारण अहिले देश असफलतातर्फ गइरहेको पनि बताएका छन् ।
उनले यो असफलतालाई रोक्नका निम्ति र देशमा वैज्ञानिक समाजवाद अपरिहार्य भइसकेका कारण आफूहरुले देशलाई वैज्ञानिक समाजवादतर्फ लिन खोजिरहेको बताएका छन् ।
‘हामीले पार्टी पुनःगठन गर्दाखेरी संसदीय व्यवस्थाको कारण देश संकटमा पर्न जान्छ । जनता समस्या भोग्नेछन् । त्यसैले हामीले नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा विकास गरी नेपालमा वैज्ञानिक समाजवाद क्रान्ति गर्ने भन्ने उद्देश्यका साथ जुन पार्टी हामीले पुनःगठन गरेका थियौं त्यो सार्थक भएको छ र हामीले पार्टी पुनःगठन गर्दाखेरि जुन विश्लेषण अगाडि सारेका थियौं त्यो विश्लेषण अनुसार नै देशको संसदीय व्यवस्थाको संकट गहिरिएर गएको छ,’ उनले भने, ‘त्यसको सामाधानका लागि आज हामीले देशभरि पार्टी पुनःगठन दिवसको सन्दर्भमा फेरि नयाँ ढंगबाट देशलाई एकीकृत गर्ने र क्रान्तिकारीलाई नयाँ संस्लेशणका साथ अगाडी बढाउने सन्देशसहित हामीले पार्टी पुनःगठन दिवस मनाइरहेका छौं ।’
उनले राजनीतिक क्रान्ति देशमा पूरा नभएको पनि बताएका छन् । संसदीय व्यवस्थामै देश फर्किएर क्रान्ति हुन नसक्दा अहिले देशमा गाँस, बास, कपास, रोजगार, स्वास्थ्य, शिक्षा तथा राष्ट्रियताको सवाल, भ्रष्टाचारको सवाल, हत्या हिंसाको सवाल लगायत युवाहरु लागूपदार्थ दुव्र्यवसनीमा फस्दै गएको संकट यो सबै क्रान्ति नभएकै कारण भएको उनको भनाई छ । उनले नेपालमा क्रान्ति पूरा नहुँदासम्म आफूहरु लड्ने र आफूहरु नमर्दासम्म क्रान्तिको झाण्डा बोकिरहने बताएका छन् ।
समाजवादी क्रान्तिका निम्ति सिंगो कम्युनिष्टहरु एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् । उनले त्यसका लागि सिंगो जनतालाई पनि एकताबद्ध पार्नुपर्नेमा जोड दिएका छन् । जनता र सिंगो कम्युनिष्टहरु एकताबद्ध नभएर क्रान्ति सम्पन्न नहुने हुँदा सिंगो कम्युनिष्टहरुलाई एकताबद्ध पार्न आफूहरुको प्रयन्त रहिरहने उनको भनाई छ । उनले समाजवादी क्रान्तिको पक्षमा सहमत भए नेकपा एमाले, नेकपा (एस), माओवादीलगायत अन्य सबैसँग आफूहरु सहकार्य र एकता गर्न तयार रहेको बताएका छन् ।